दशैैंमा बसले जुन रुटमा पनि यात्रु बोक्न पाउने, मोटरसाइकल दर्ता सोमबारदेखि खुल्ने

  २०७५ असोज १९ गते १२:३७     खेमराज श्रेष्ठ

काठमाडौं । दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो ।

दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ ।

दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुटपरमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ ।

यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।

सोमबारदेखि बाग्मतिमा मोटरसाइकल दर्ता

विभागले सोमबारबाट पुनः मोटरसाइकल दर्ता सुरु गर्ने भएको छ । मोटसाइकलमा प्रयोग गरिने लट नम्बर १०० पुगेपछि बाग्मतिमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागका प्रवक्ता उपाध्ययायका अनुसार नयाँ दर्ता गर्नका लागि मन्त्रिपरिषदको निर्णयको आवश्यक पर्नेछ । विभागले कुन मोडलमा नयाँ दर्ता भन्ने विषय छलफल गरि मन्त्रिपरिषदमा पेस गरिसकेको छ ।

मन्त्रिपरिषदको बैठक २१ गते राख्ने सरकारको तयारी रहेको छ । २१ गते मन्त्रिपरिषदले निर्णय गरेपछि २२ गतेबाट पुन नयाँ मोटरसाइकल दर्ताको प्रक्रिया सुरु हुनेछ । विभागको अनुसार हाल देशभर सवारीसाधनकाे संख्या ३२ लाख पुगेका छन् । त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । बाग्मतिमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.