यसरी भयो वाइड बडीमा गडबडीः महालेखा परिक्षक टंकमणि शर्मा

  २०७५ असोज १२ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल बायुसेवा निगमले २ वटा वाइड वडी जहाज खरिद गर्न भन्दै २० करोड ९६ लाख डलरमा सम्झौता गरेको रहेछ । त्यसमध्ये ८ करोड डलर पेस्की पठाएको थियो । त्यसमा हाम्रो दुई वटा अहसमति रह्यो । एउटा खरिद प्रक्रिया र अर्काे मूल्य ।

नेपाल बायु सेवा निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६(१) मा नयाँ विमान खरिद प्रक्रिया र २३६(२)मा पुरानो विमान खरिद गर्ने प्रक्रिया तोकिएको छ ।

त्यसमा नयाँ विमान खरिद गर्ने हो भने कार्यकारी प्रमुखले तोकेको निगमका बरिष्ठ अधिकृतका नेतृत्वमा समिति गठन गर्ने र सो समितिले आवश्यक विमान, खरिद गर्ने तरिका, व्यापार योजना बनाएर सिफारिस गर्ने व्यवस्था छ । त्यसलाई सञ्चालक समितिमा पेश गरेर आरएफपी बनाउने भनिएको छ । नयाँ विमान खरिद गर्ने हो भने विमान निर्माता कम्पनीहरुबाट आरएफपी माग्नु पर्ने भनिएको छ । आफैंले सबै काम गर्न नसके परामर्श दाता लिन सकिने पनि उल्लेख छ ।

एउटा मात्रै प्रस्ताव आयो भने १५ दिनका लागि फेरी नयाँ प्रस्ताव जारी गर्नुपर्ने र एक भन्दा बढी प्रस्ताव आएपछि उपयुक्तलाई छनौट गरेर सम्झौता गर्नुपर्ने भनिएको छ । त्यसपछि मात्रै नयाँ विमान खरिद गर्न पाइने व्यवस्था छ ।

पुरानो विमान खरिद गर्नका लागि विमान सञ्चालक, लिजिङ कम्पनी, बैंकर वा विमान उत्पादकबाटै हुनुपर्ने भनिएको छ । नयाँ विमान भने उत्पादक कम्पनीबाट मात्रै खरिद गर्न सकिने स्पष्ट व्यवस्था छ ।

विनियमको २३६ (१) अनुसार नयाँ विमान किन्दा विमान उत्पादक कम्पनीसँग किन्न छाडेर पुरानो विमान खरिद गर्न किन लागियो ?
प्रस्ताव चाँही एक हजार किलोमिटर उडेको विमान किन्ने भनेर आव्हान गरियो । तर खरिद चाँही नयाँ विमान गरियो । यदि नयाँ विमान नै किन्नु थियो भने सिधै उत्पादक कम्पनीसँग खरिद किन गरिएन भन्ने हाम्रो प्रश्न हो ।

ए३३३०ः२०० विमान एयरबसले मात्रै बनाउँछ । यदि एयरबस नै किन्नु थियो भने सिधै कम्पनीसँग नकिनेर किन बीचको कम्पनीसँग खरिद गरियो ? प्रश्नको जवाफ हामी मागिरहेका छौं ।

हाम्रो दोश्रो प्रश्न भनेको मूल्यका बारेमा पनि हो ।  एयरबस कम्पनीले मूल्यबारे आफ्नो वेभसाइटमा पनि धेरै कुरा राखेको हुन्छ । एयर बसको मूल्य सूचि नै अध्ययन नगरि किन खरिद गरेको ? यहाँ विमानको खरिद मूल्यमै केहि गडबडी भएको हुन सक्छ ।

त्यतिबेला ८ करोड डलर मात्रै भुक्तानी गरिएको थियो, त्यसकारण प्रारम्भिक प्रतिवेदन मात्रै निकालेका थियौं । यसपाली वाइड बडी जहाज खरिद प्रक्रियाको विस्तृत खातापाता हेर्दैछौं ।

विमान खरिद गर्दाको मूल्यको यथार्थ विवरण मागेका छौं । वारेन्टी र ग्यारेन्टी पनि मागेका छौं । विमान खरिद गरेपछि रुट सुनिश्चितता, उडान योजनाको सवाल पनि उठान गरेका छौं । उडान गर्दाको तौल क्षमताको प्रश्न पनि उठाएका छौं । यसपालीको रिपोर्टमा वाइड बडीको विस्तृत विवरण आउँछ । चैतसम्ममा वाइडबडी खरिद प्रक्रियाको सबै विवरण सार्वजनिक गरिदिन्छौं ।

यो बिषयमा निगम व्यवस्थापन र सञ्चालकसँग मैले पटक पटक छलफल गरेको थिएँ तर उहाँहरुको तर्कबाट सन्तुष्ठ हुन सकिँन् ।(महालेखा परिक्षक टंकमणी शर्माले संसदको सार्वजनिक लेखा समितिमा नेपाल बायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणबारे व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.