नेपाली कफीको बजार विस्तार हुदै गएकाे छ : मानबहादुर श्रेष्ठ

  २०७५ असोज १० गते १७:३०     विकासन्युज

व्यवसायी मानबहादुर श्रेष्ठले २ दशकदेखि कफीको तितो झोलमा मिठास भर्ने काम गरिरहेका छन् । २०५५ सालमा विराटनगरबाट काठमाडौं छिरेका श्रेष्ठले हिमालयन जाभाबाट आफ्नो करियर सुरु गरेका हुन् । उनले कफी बनाउने (बारिस्टा ट्रेनिङ) दिन थालेको १३ बर्ष भयो । श्रेष्ठ नेपालको पहिलो बरिस्टा प्रशिक्षक हुन् । उनले एसप्रेसो अग्र्यानिक कफी हाउस सञ्चालन गरिरहेका छ । ३५ लाख रुपैयाँ लगानीमा उनले कफी हाउस खोलेका हुन् । नेपालमा कफी व्यवसायका विषयमा केन्द्रीत रहेर श्रेष्ठसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी ।

नेपालमा कफी खेती कहिलेदेखि सुरु भएको हो ?

करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिक रूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ । अहिलेसम्म नेपालमा वार्षिक ५०० टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको छ । विश्वमा कफीलाई चियापछिको दोश्रो पेय पदार्थको रूपमा लिइन्छ । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बो्क्सिलिक एसिड) पाइन्छ ।

नेपालमा कफी खेतीको सम्भावना कतिको छ ?

विश्वमा १०० भन्दा बढी मुलुकमा कफी उत्पादन हुने गरेको छ । नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । यहाँ पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू–भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि यही छ । नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ । नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६०० मिटरसम्मको उचाइमा अराविका वर्णको टिपिका र बर्बन जातका हुन् । प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।

अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको पारखीहरू बताउँछन् । नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरी जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ ।

जहाँ पनि कफी मसिन बेच्ने, जो पनि बरिस्टा ट्रेनिङ गराउने, जसले पनि कफी पसल खोल्दिने जस्ता कारणले यसमा धेरै नै प्रतिस्पर्धा छ । यही कारणले गर्दा पनि कफी क्षेत्र उत्पादन बढी देखिन्छ । व्यवसायिक रुपमा हेर्दा आम्दानी कम देखिन्छ । जुन स्तरको आम्दानी पहिला देखिन्थ्यो त्यो अहिले छैन ।

तपाइलाई कफी व्यवसायमा कसरी लाग्नु भयोे ?

कफीमा लाग्न उत्प्रेरित गर्नेमा कलाकार शिव श्रेष्ठ दाई हुनुहुन्छ । उहाँले नै मलाई सुरुमा हिमालयन जाभामा आवद्द गराउनुभएको हो । मेरो कफी करियर त्यहीँबाट सुरु भएको हो । सुरुवाती दिनहरुमा धेरै गाह्रो भएको थियो । त्यतिखेर अहिलेको जस्तो धेरै मान्छे हुँदैन थिए । कफी बनाउने, रोष्ट गर्ने र ग्राहकलाई सर्भ गर्ने सबै काम आफैले गर्नु पथ्र्याे । कफी बनाउने मेसिन पनि आजको जस्तो सजिलो कहाँ थियो र । बरिस्ता भनेको के हो थाह थिएन । तर बिस्तारै बुझ्दै जाँदा सजिलो हुँदै गयो र यस प्रति झनझनै रुची बढ्दै गयो । मैले जाभामा ६ बर्ष बिताए ।
त्यसपछी मैले कफीमा धेरै अनुसन्धान र अध्ययन गरे । कफी प्लान्टेसनमा गएर बिभिन्न कफी सम्बन्धित संघ संस्थासँग आवद्द भएर काम गरें । म अहिले कफी बनाउने मात्र नभएर उत्पादान,प्रोसेसिङ, रोस्टिङ, कपिङमा पनि काम गर्छु । जुन समयमा तपाईंले कफिको क्षेत्रमा काम सुरु गर्नुभयो त्यो समयमा मानिसहरुलाई कफिको बारेमा कत्तिको ज्ञान थियो?

मैले सुरुवात गर्ने समयमा नेपालमा कफी पिउने कल्चर थिएन । एकदमै कम मानिसलाई मात्र यस सम्बन्धी ज्ञान थियो । कफी भन्ने बित्तिकै मानिसहरुले नेसक्याफे भन्थे । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् ।

क्यापाचिनो, एस्प्रेसो भन्न मलाई १ महिना लाग्यो । त्यसबेला मेसिनहरु चलाउन पनि सार्है गार्हो थियो । त्यस समयमा हिमालयन जाभा र एक दुई वटा ५ तारे होटलमा मात्र मसिन राखिएको थियो तर कफी मेकिङ हुँदैन थियो । हामी बरिस्ता भन्नले वरिष्ठ मान्छे भनेर बुझेका थियौं । बिस्तारै यो शब्द पत्ता लाग्दै गईसकेपछि मात्र हामीले बल्ल यस शब्दको अर्थ बुझ्यौ । त्यो समयमा कफिको लागि जाभा बाहेक अरुमा काम गर्ने अवसर पनि थिएन । कित जाभा नत्र बिदेश जानुपर्ने थियो ।

कफी व्यवसायले तपाईंको दैनिक जीवनमा कस्तो असर पारेको छ ?

कफी मेरो शरीरको रगत जस्तो हो । मेरो दिनको सुरुवात कफीको चुस्की सँगै सुरु हुन्छ । अहिलेसम्मको मेरो करियर, गुड्विल कफी नै हो । असफल हुन्छु कि भन्ने नसोची म अगाडि बढिरहे । परिवर्तनको कुरा गर्नुपर्दा सोचेजस्तो पैसा कमाईएन होला त्यो एक ठाउँमा छ तर अनुभव,गुणस्तरिय, दक्ष मान्छे मलाई कफीले बनाएको छ ।

कफी कति प्रकारका छन् ?

कफी धेरै प्रकारका हुन्छन्। नेपालमा मुख्य दुई प्रकारको कफीको प्रयोग हुन्छ। एक अरबिका कफी जुन उच्च हिमाली क्षेत्रमा फल्छ र अर्को रोबस्ता जुन तराई क्षेत्रमा फल्दछ।

त्यस्तै कफी बेभरेज ५ प्रकारका छन् । एक्सप्रेसो राम्रोसँग धुलो पारिएको कफी बिन्समा केही मात्रामा प्रेसराइज्ड तातोपानी हालेर बनाइन्छ । यो सामान्यतया २० देखि २५ एमएल मात्र हुन्छ । अमेरिकानो एक्सप्रेसोमा केही मात्रामा तातोपानी मिसाएर बनाइन्छ । यसमा भने पानीको मात्रा ४०० एमएलभन्दा माथि हुन्छ ।

लात्ते यसमा भने एक्सप्रेसोपछि दूध मिसाइन्छ । एक्सप्रेसो एक भाग र दुध तीन भाग हुन्छ । माथिबाट केही चित्र पनि कोरिएको हुन्छ । मोका यसमा पनि एक्सप्रेसो एक भाग हुन्छ भने अर्को तीन भाग स्मिड दूध हुन्छ । थोरै चक्लेट पनि यसमा हालिएको हुन्छ । क्यापेचिनो यसमा भने एक्सप्रेसो, तातो दूध, स्मिड दूधको फोम मिसाएर बनाइन्छ। यसमा लात्तेभन्दा कम स्टिम दूध हालिन्छ ।

नेपाली कफी कुन देशमा बढी निकासी भएको छ ?

जापान, अमेरिका, बेल्जियम, जर्मनमा नेपाली कफीहरु निर्यात हुन्छ । बढी आर्ग्निक कफी मात्र निर्यात हुन्छ । अहिले नेपालले पनि ईन्टरनेसनल कफी सोमा आफ्नो उपस्थिती देखाउन थालेकाले भबिष्यमा नेपाली कफीको बजार राम्रो हुने देखिन्छ ।

तपाईले सञ्चालन गर्नुभएको एसप्रेसो अग्र्यानिक कफी हाउसले कस्तो व्यवसाय गरिरहेको छ ?

मैले धेरै ठाउँमा बरिस्ता ट्रेनिङहरु दिए र धेरैलाई दक्ष बरिस्ताको रुपमा स्थापना पनि गरे । म आफ्नै क्याफे संञ्चालन गर्न चाहान्थे । आफै मालिक बन्न चाहान्थे । आफ्नै क्याफेमा आफैले आफैलाई कफी बनाउन निर्देशन दिने रहर थियो मेरो । यही चाहनबाट ४ बर्ष अगाडि स्थापना भयो एस्प्रेसो अग्र्यानिक कफी हाउस । २ बर्ष भयो यो थापागाउँ बानेश्वरमा सरेको । यस अगाडि यो नक्सालमा थियो । मलाई मेरो व्यवसायमा अभिनेत्री तथा संञ्चारकर्मी कृति भट्टराईले साथ दिएकी छिन् । मेरा दुई छोरा पनि यही व्यवसायमा आवद्द छन् । मेरो कफीसँगको यात्रामा मेरो श्रीमती लीला श्रेष्ठ र छोराहरुको साथ बिना म असफल हुने थिए ।

कफी व्यवसायीको बन्ने चाहना भएका युवाहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ ?

कसैको लहैलहैमा लागेर कफी व्यवसायमा लाग्छु भनेर नसोच्न आग्रह गर्न चाहन्छु । कफी मात्र नभएर हरेक व्यवसायमा सबैभन्दा पहिला त्यस बारेमा पुरा ज्ञान हाँसिल गरेर मात्र अघि बढ्नु पर्छ । कफी व्यवसायमा आफुलाई स्थापना गर्न चाहने युवाहरुले सबैभन्दा पहिले कफीको बारेमा राम्रो अध्ययन गर्न जरुरी छ । त्यसपछी कफीसँग सम्बन्धित ट्रेनिङहरु लिनुपर्छ । व्यवसायमा कहिले नाफा कहिले घाटा हुनसक्छ, यसका लागि सधैं तयार भएर बस्न जरुरी छ । आफ्नो व्यवसायको कमजोर पक्षलाई नियालेर सुधारिदै निरन्तरता दिने हो भने पक्कै एक सफल व्यवसायी बन्न सकिन्छ।

एउटा सामान्य कफी शप खोल्न कति लगानी चाहिन्छ ?

एउटा सामान्य कफी शप खोल्नलाई कम्तीमा पनि १५ लाख रुपैयाँ चाहिन्छ । ठाउँ अनुसार कस्तो ईन्टेरियर डिजाईन गर्ने, कस्तो खालको मेसिन राख्ने यो सबै रिसर्च भईसकेपछि मात्र बजेटको कुरा आउँछ ।

एक किलो रोस्टेड गरेको बिन्सले कति ग्लास कफी बन्छ ?

यो बिभिन्न बारीस्टामा भरपर्छ तर नेपाली कफी धेरै ओभरडोज हुनेगर्छ । त्यसैले १ किलोले ९० कपसम्म कफी बनाउन सकिन्छ ।

कफीलाई अझ व्यवसायिक रुपमा अघि बढाउन के गर्नुपर्ला ?

कफी व्यवसायलाई अझै राम्रो बनाउन सबै भन्दा पहिले कफीको लागि खेती योग्य जमिन खोज्न जरुरी छ । त्यस क्षेत्रको तापक्रम पनि बुझ्न जरुरी छ । किनभने कफी जहाँपायो त्यही ठाउँमा फल्दैन । यो ठाउँ, वातावरण, तापक्रम अनुसार भिन्न भिन्न ठाउँमा फल्दछ ।
सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना छ । सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ।

तपाईंका भावि योजना के छन ?

कफी बाहेक मेरो कुनै योजना छैन र मैले के गर्ने भन्ने सोचेको छैन । मेरो अब आउने दिनमा कफी शपको लागि उपयुक्त ठाउँ रिसर्च गरेर नयाँ ठाउँमा कफी शप बिस्तार गर्ने योजना छ । नयाँ व्यवसायीलाई चाहिने सहयोग, सामाग्री र कामदार उपलब्ध गराउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.