बक्यौक्ता करमा काठमाडौं महानगरले दियो जरिवाना छुट, १० करोडसम्मको सम्पत्ति कर ९० हजार मात्रै

  २०७५ असोज ७ गते १६:००     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद नाघिसकेको बक्यौता घरबहाल करमा जरिवाना छुटको व्यवस्था गरेको छ । महानगरले नयाँ प्रणालीमा सम्पती कर असुली गर्न थालेपछि पुरानो बक्यौता करमा जरिवाना छुट गरेको हो । महानगरले आर्थिक ऐन २०७५ मा सम्पत्ति कर घर र बहाल कर अब प्रति वर्गमिटर अनुसार तिर्नुपर्ने व्यवस्था गरेको छ ।

महानगरले पहिलो पटक कर निर्धारण गर्ने नयाँ मापदण्ड तयार गरेको हो । महानगर राजस्व विभागका निर्देशक राज्यप्रकाश प्रधानाङगाका अनुसार चालू आर्थिक वर्षको सम्पत्ति कर असोज मसान्तभित्र बुझाए १० प्रतिशत छुट हुनेछ । साथै सम्पत्ति करमा समावेस भएको जग्गामा भूमिकर लाग्ने छैन ।

नयाँ प्रणालीको कर असुलीमा ठाउँ अनुसारको जग्गा हेरी प्रति आना जग्गाको मूल्य तोकिएको छ । प्रतिआना जग्गाको रकमलाई १०० ले भाग गरी आउने रकमलाई स्थान अनुसार फरक-फरक अंकले गुणन गरिनेछ । यसपछि घरको बनावट अनुसार प्रतिवर्गमिटर गुणन गरी आउने रकम र घरको मूल्यलाई ०.२० ले गुणन गरी आउने योगफललाई पहिलेको जग्गाको मूल्यमा जोडेर प्रतिवर्गमिटर क्षेत्रफलसँग गुणन गरी निकालिने योगको १० प्रतिशत कर तिर्नु पर्नेछ ।

यस हिसाबले रत्नपार्क, खिचापोखरी, न्युरोड, असन, त्रिपुरेश्वर लगयतको क्षेत्रमा आनाको ५० लाख रुपैयाँ तोकिएको छ । यस्तै दरबारमार्ग, पुतली सडक लगायतको क्षेत्रमा ४० लाख प्रतिआना तोकिएको छ । महानगरले तोकेको कर अनुसार सुरुको १ करोडसम्मको कर १ हजार  रूपैयाँ तिर्नु पर्नेछ । त्यसपछिको २ करोडमा १ हजार ५००, ३ करोडमा २ हजार, ४ करोडमा ४ हजार, ५ करोडमा ६ हजार, ६ करोडमा १० हजार, ८ करोडमा ६० हजार र १० करोडसम्मको सम्पतीमा ९० हजार रूपैयाँ कर तिर्नु पर्नेछ ।

अब महानगरभित्र आठ तलासम्मको घर निर्माण गर्न पाउने ऐनमा व्यवस्था गरिएको निर्देशक प्रधानाङगाले बताए । ‘महानगरभित्र अब हाइराइज बिल्डिङलाई पनि स्वीकृति दिइएको छ । यसको उदेश्य अग्ला बिल्डिङ बनाउने र खाली स्थानको बृद्धि गर्ने रहेको छ, प्रधानाङगाले विकासन्युजसँग भने यो वर्ष गत आर्थिक वर्ष भन्दा बढी कर असुल गर्ने उदेश्य राखेका छौं ।’

यसअघि सरकारले भूकम्पछि २ तला भन्दा माथिका घर बनाउन रोक लगाएको थियो । यसअघि महानगरले बहालकर अन्दाजी मूल्यको १२ प्रतिशत उठाउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.