७०० मेगावाटको माथिल्लो अरुण पनि कम्पनी मोडलमा, सर्वसाधारणलाई लगानीको अवसर

  २०७५ असोज ६ गते १४:३६     विकासन्युज

काठमाडौं । प्रस्तावित ७०० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना कम्पनी मोडेलमा निर्माण हुने भएको छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गर्ने भएको छ । सरकारले आयोजना अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडमार्फत निर्माण गर्ने निर्णय गरेको छ । कम्पनीमार्फत निर्माण अघि बढाएर सर्वसाधारणलाई सेयर निष्कासन गरिने छ ।४९ प्रतिशत सेयर नेपाली नागरिकलाई दिइने छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीको समेत  लगानी हुने छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैंठकले वि.सं २०६९ फागुन ४ को निर्णयलाई संशोधन गरी सरकारी स्वामित्वको कम्पनीका रुपमा प्राधिकरणको मातहत रहने गरी अपर अरुणमार्फत अगाडि बढाउने गरी सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

हाल आयोजनाको संभाव्यता अध्ययन भइरहेको छ । परामर्शदाता चिनियाँ कम्पनी एसटीपीआर सिनोटेक जेभीले आउदो अक्टुबरमा आयोजनाको अद्यावधिक संभाव्यता अध्ययन प्रतिवेदन दिने भएको छ । यसपछि विस्तृत इन्जिनियरिङको काम सुरु हुने आयोजनाका पुर्वप्रमुख विश्वध्वज जोशीले बताए । आयोजना ३३५ मेगावाट भनिए पनि इन्जिनियरिङपछि आयोजनाको क्षमता बढेर ७०० मेगावाट पुग्ने उनले जानकारी दिए ।

परामर्शदाता सिनोटेक जेभीले आउदो २ वर्षभित्र आयोजनाको विस्तृत इन्जिनियरिङको काम सम्पन्न गर्नुका साथै सिभिल निर्माणका लागि बोलपत्र डकुमेन्ट समेत तयार पार्ने छ । विश्व बैंकको सहयोगमा आयोजनाको विस्तृत अध्ययनको तयारी सुरु भएको हो ।
परामर्शदाताले माथिल्लो अरुणका अतिरित्त ३० मेगावाटको इंखुवाखोलाको पनि विस्तृत प्रतिवेदन तयार पार्ने छ ।

विद्युत प्राधिकरणले सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको आयोजनाको लागत ५३ करोड ४० लाख अमेरिकी डलर अनुमान गरिएको छ । डीपीआर तयार भएपछि मात्र आयोजनाको वास्तविक लागत आउने छ । आयोजनाको लागत बढ्ने संभावना छ ।

यस्तै, आयोजनाको प्रतियुनिट लागत अत्याधिक सस्तो २.७४ रुपैयाँमात्र पर्ने अध्ययनले देखाएको छ । आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको हो । प्राधिकरणले स्थानियबासिन्दालाई सेयर दिनका लागि अर्को ३० मेगावाटको इंखुवाखोला निर्माण गरिदिने भएको छ । माथिल्लो अरुणको सेयर नदिन इंखुवाखोला आयोजना अघि बढेको हो ।

आयोजनाबाट वार्षिक २ अर्ब ५ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।यस्तै सडकको अध्ययन काम जारी रहेको छ । आउदो ६ महिनाभित्र सडकको पनि सर्वेक्षणको काम सकिने छ । विद्युतगृहसम्म पंहुचमार्ग निर्माण भइसकेको छ ।
२०७७ मा आयोजनाको वित्तीय व्यवस्थापन र २०७८ देखि निर्माण गर्न ठेकेदार परिचालन गर्ने प्रारम्भिक तालिका तयार गरिएको छ ।

निर्माण सुरु भएको ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनामा प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित स्थानीयको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनामा कार्यरत कर्मचारीको ५ प्रतिशत र आपांग व्यक्तिका लागि २ प्रतिशत सेयर लगानी हुनेछ । आयोजना संखुवासभा जिल्लाको किमाथांका, चेपुवा, हटिया र पाथीभरा गाविससँग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.