४ महिनाभित्रै फास्ट ट्रयाकको डीपीआर, ३० महिनापछि एक घण्टामै निजगढ-काठमाडौं

  २०७५ असोज ४ गते १८:३०     विकासन्युज

काठमाडौं । तराई-मधेशको विकासमा लाइफलाइनका रुपमा हेरिएको फास्ट ट्रयाकको विस्तृत अायाेजना प्रतिवेदन (डीपीआर)  आगामी ४ महिना भित्र तयार हुँदैछ । फास्ट ट्रयाकको डीपीआर निर्माणका लागि कोरियाली सुसुङ कम्पनीले जिम्मेवारी पाईसकेको छ । कम्पनीसँग सेनाले केहि दिनभित्रै सम्झौता गर्दैछ । सम्झौताको मितिले ४ महिनाभित्र डीपीआर निर्माण गरेर बुझाईसक्ने आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणले बताए ।

उनका अनुसार डीपीआर प्राप्त गरेको ३० महिनाभित्र फास्ट ट्रयाकको निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सेनाले काम गरिरहेको छ । सेनाले हाल तयार गरिएको रेखांकन, सर्भेक्षण तथा डिजाइन, लागत अनुमान, वातावरणिय प्रभाव र आर्थिक तथा वित्तिय विश्लेषणका आधारमा डीपीआर तयार हुने खाँणले जानकारी दिए । सेनाले हालसम्म फास्ट ट्रयाक २५ प्रतिशत काम सम्पन्न गरिसकेको बताएको छ ।

सेनाले २० हजार रुख कटान गरिसकेको छ भने ६० लाख १७ हजार घनमिटर माटो काट्ने तथा ८ लाख ९ हजार घनमिटर माटो भर्ने काम सम्पन्न गरेको छ । आगामी ३४ महिनापछि काठमाडौं र निजगढको दुरी एक घण्टा भन्दा कम समयमा पार गर्न सकिने खाँणले बताए । फास्ट ट्रयाकको डिजाइन स्पीड न्युनतम ६५ र अधिकतम १२० किलोमिटर प्रति घण्टामा गरिनेछ । फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि एक घण्टा भन्दा कम समयमै काठमाडौं र तराईको सम्पर्क जोडिनेछ ।

चार लेनको सडकलाई एसियाली मापदण्डको प्राइमरी क्लास १ मा निर्माण गरिनेछ । समथर जमिनमा सडकको चौँडाई २७ मिटर हुनेछ भने पहाडी क्षेत्रमा २५ मिटरको हुनेछ । फास्ट ट्रयाकमा १ हजार २०० सेनाले काम गरिरहेका छन् । सेनाले बिभिन्न १० ठाउँमा क्याम्प बनाएर काम गरिरहेको छ ।

सेनाले ९९ वटा पुलमध्ये ७४ वटा अन्तराष्ट्रिय कम्पनी मार्फत निर्माण गराउने र बाँकी २५ वटा पुल भने नेपाली निर्माण व्यवसायीबाटै निर्माण गराउने बताएको छ । सेनाले हालसम्म देशभर १ हजार ११४ किलोमिटर सडक निर्माण सम्पन्न गरिसकेको छ भने ५३६ किलोमिटर सडक निर्माण गरिरहेको छ । त्यस्तै ३० वटा मोटरेबल पुलहरुको निर्माण सम्पन्न गरिसकेको छ ।

डीपीआर १० करोड १५ लाख रूपैयाँ लागतमा तयार हुनेछ । ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ । नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.