दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी, काम शुरु नगरे कारवाही

  २०७५ असोज ३ गते १६:१५     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्राचार गरेको छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो ।

प्राधिकरणले सोमबार नै युटीएललाई पत्र काटिसकेको अध्यक्ष दिगम्बर झाले बताए । विकासन्युजसँगको कुराकानीमा झाले युटिएललाई समयमै सुध्रिन चेतावनी दिएको बताए । “कुनै पनि कम्पनीले लाइसेन्स लिएर सेवा प्रदान नगरी बस्न मिल्दैन” झाले भने “ त्यसैले पत्राचार गरिएको हो ।” पछिल्लो दिनमा युटीएल तल्लो दर्जामा खस्केको छ । उनका अनुसार युटिएललाई कानून बमोजिम कारबाही भैसकेको छ । जसअनुसार ५ लाख जरिवाना भैसकेको छ । प्राधिकरणले स्पष्टीकरण लिइसकेको छ ।

एक वर्षअघि प्राधिकरणले युटीएलसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो । फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटीएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका गरेका थिए ।

युटीएलले २ अर्ब १ करोड रुपैंयाँ खर्चेर प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने सहमति गरेको थियो । तर हालसम्म कुनैपनि कार्य प्रगति नभएको अध्यक्ष झाले बताए । युटीएल पछिल्लो १३ बर्षदेखि नोक्सानीमा रहेको कम्पनी हो । युटीएलले सीडीएमए प्रविधिबाट टेलिफोन सेवा शुरु गरेको थियो । हाल सो सेवालाई जीएसएमले प्रतिस्थापन गरेपछि उसलाई प्राधिकरणले एकिकृत लाइसेन्स दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.