कुन्बाङ खोला जलविद्युतको बिजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने

  २०७५ असोज २ गते १८:४५     विकासन्युज

काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरेका छन् । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता २० मेगावाट हुनेछ ।

सम्झौता अनुसार यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँद (पुसदेखि चैतसम्म) मा ८ रुपैयाँ ४० रुपैया र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ । विद्युत खरिद सम्झौतापछि आयोजना निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने आयोजना प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । ‘हामी दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने छौं, उनले भने ।

आयोजनासम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नु पर्छ । कुन्बाङ खोलामा बहने पानीबाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण हुनेछ । यस आयोजनाले बार्षिक ११५ दशमलव ५१ गिगावाट विद्युत उत्पादन गर्ने छ । यसले बर्षतमा १७.५५ गिगावाट र हिउँदमा ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विजुली २० किलोमिटर लामो प्रशारण लाईन हुँदै डाँडाखेतस्थित विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभिए सवस्टेशनमा ल्याएर जोडिने छ । आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने प्रबर्धक कम्पनीले अनुमान गरेको छ । यस आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपूँजी लगानी जुटाइने छ । ‘हामी यसै बर्षभित्र लगानी जुटाइसक्ने छौं, सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले भने, ‘अर्को बर्षदेखि निर्माणको काम शुरु हुने छ ।

आयोजनाले ४ बर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष लिएको छ । सन् २०२४ को फेबुअरीदेखि आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन शुरु गर्ने कम्पनीको लक्ष छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यस्तै सर्बसाधारण लगानीकर्तालाई १५ प्रतिशत सेयर वितरण गरिने निर्माणकर्ता कम्पनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.