५ करोड नाफा कमाउने कालिका पावरको योजना, अर्काे बर्ष लगानीकर्तालाई लाभांश

  २०७५ भदौ २० गते १२:४२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७५/०७६ देखि नाफा गर्ने भएको छ । चालु आर्थिक वर्षमा कम्पनीले झण्डै ५ करोड रुपैयाँ खुदनाफा गर्ने भएको छ । गत आर्थिक वर्षमा कम्पनीले २४ लाख १७ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।


कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा हुने देखाएको हो । कम्पनीले आगामी आर्थिक वर्ष ०७६/०७७ मा ६ करोड ५६ लाख र आर्थिक वर्ष ०७७/०७८ मा ७ करोड ९९ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । कम्पनीले आगामी वर्ष ३ करोड १५ लाख रुपैयाँ र अर्को वर्ष ३ करोड ३० लाख रुपैयाँसम्म नगद लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै जाने देखिएको छ ।

नाफमा भएको वृद्धिसंगै चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ९२ पैसा, आगामी वर्ष ९ रुपैयाँ ९३ पैसा र आर्थिक वर्ष ०७७/०७८ मा बढेर ११ रुपैयाँ ५१ पैसा पुग्ने अनुमान सार्वजनिक गरिएको वित्तीय विरणमा उल्लेख छ । नाफा भएपछि यो वर्षदेखि कम्पनीको प्रतिसेयर नेटवर्थ धनात्मक भई १०० रुपैयाँ ७७ पैसा पुग्ने छ । आगामी आर्थिक वर्ष बढेर १०१ रुपैयाँ १४ पैसा र आर्थिक वर्ष ०७७/०७८ मा १०३ रुपैयाँ ८ पैसा पुग्ने छ ।

चालु आर्थिक वर्षमा कम्पनीले बिजुली बिक्रीबाट आम्दानी २२ प्रतिशत बढाएर १९ करोड ८८ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा १६ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । आगामी वर्ष आम्दानी वृद्धिदर घटेर २.९२ अर्थात २० करोड ४६ लाख र अर्को वर्ष २.७८ प्रतिशतले मात्र बढेर २१ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

कालिकाले ६ मेगावाटका दरौदी ए जलविद्युत आयोजना बनाउन विभिन्न बैैंकबाट लिएको कर्जा ७२ करोड १२ लाखमा झरेको छ । गत आर्थिक वर्षसम्म कम्पनीले १० करोड ५५ लाख रुपैयाँ कर्जा तिरेको छ । बाँकी कर्जा ९.५ वर्षसम्म भुत्तानी गरिसक्ने लक्ष्य कालिकाको छ । २०७३ मंसिर १३ गतेदेखि बिजुली उत्पादन थालेको कम्पनीले १० वर्षसम्म पुरै र पछिल्लो ५ वर्ष ५० प्रतिशतसम्म आयकर छुट पाएको छ । कम्पनीले भदौ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । कालिकाले इक्रा आईपीओ ग्रेड ४ प्राप्त गरेको छ । आइपीओबाट संकलित मध्ये कम्पनीले ९ करोड रुपैयाँ ठकेदार र ३ करोड सामान आपूर्ति गर्दा आपूर्तिकर्ता कम्पनीलाई भुत्तानी गर्ने योजना बनाएको छ ।

७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार चुत्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ६ करोड र सर्वसाधारणलाई २० प्रतिशत अर्थात १२ करोड गरी कुल १८ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै संस्थापकले ४२ करोड रुपैयाँ लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.