नेपाली मुद्रा कमजोर भइ ११५ रूपैयाँ नजिक पुग्याे, डलर महंगिदा हुने वेफाइदा यस्ता छन्

  २०७५ भदौ २० गते ९:३९     विकासन्युज

काठमाडौं । पछिल्लो पाँच महिनामा डलर ९ रुपैंयाले महंगिएको छ । डलर महंगिए र रुपैया कमजोर भएपछि नेपाली बजारमा मूल्य वृद्धिको जोखिम समेत बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११४ रुपैयाँ ८४ पैसा बिक्री दर तोकेको छ । मंगलबार ११४ रुपैयाँ २४ पैसा थियो । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ९ रुपैयाँ कमजोर भएको छ ।

अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले मंगलबारका लागि १ डलर बराबर ७१.३८ रुपैयाँ भारु तोकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी नीति लिएर बाहिर रहेको लगानी फिर्ता लैजान सफल भएपछि त्यसको असर विश्व बजारमा परेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । अमेरिकाको अर्थतन्त्र बलियो भएपछि यसको असर नेपाली रुपैयाँ कमजोर हुन पुगेको उनको तर्क छ । ट्रम्प प्रशासनले कर्पोरेट कर कटौती गर्दा बाहिरबाट अर्बो डलर भित्रिएको उनको भनाई छ ।

स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्ने गर्छ र बजार भाउ बढ्छ । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ ।

डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्िन्टना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ ।

डलर बलियो हुँदाका बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ ।

राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.