चक्रपथ विस्तारको नयाँ डिजाइनः हरियाली, फुटपाथ, आकासे पुल, सोलार बत्ति र ट्राफिक लाइट

  २०७५ असार १४ गते १३:५३     विकासन्युज

काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार हुने चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ । कोटेश्वर–कलंकी खण्डको सडक डिजाइनमा त्रुटि भेटिएपछि सडक विस्तार आयोजनाले कलंकी–चक्रपथ खण्डमा भने डिजाइनमै सुधार गर्न लागेको हो । ‘कोटेश्वर–कलंकी खण्डबाट पाठ सिकेर कलंकी–चक्रपथको डिजाइनमै सुधार गर्ने काम भैरहेको छ, चिनियाँ पक्षसँग यसबारेमा छलफल गरिरहेका छौं’, चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाश भण्डारीले भने ।

उनका अनुसार कलंकी–महाराजगञ्ज खण्डको सडकमा हरियाली, आकासे पुल, मेडियन, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायत समावेश हुनेछन् । आयोजनाले असोजदेखि सो खण्डको चक्रपथ विस्तार कार्य आरम्भ गर्न लागेको छ । हाल सडकको राइट अफ वे भित्र पर्ने व्यक्तिगत संरचना हटाउन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साउनदेखि रुख, वत्ति, पानी, ढल लगायतका संरचनाहरु हटाउन थालिने पनि भण्डारीले जानकारी दिए ।

कलंकी महाराजञ्ज खण्डको स्वम्भुमा भने सुरुङ खन्ने विकल्पबारे छलफल भैरहेको पनि उनले जानकारी दिए । ‘विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु क्षेत्रमा भने सुरुङ वा फ्लाईओभरको विकल्पबारे छलफल भैरहेको छ’, भण्डारीले भने । स्वम्भुमा सडकको राइट अफ वे भित्रै वुद्धका बिभिन्न अवतारका तीन वटा ठूला मूर्ति रहेका छन् । ‘कलंकी–महाराजगञ्ज खण्डको प्रारम्भिक डिजाइन तयार भएको छ, त्यसमा थप सुधारका लागि हामीले आफ्नो धारणा दिनेक्रम जारी छ’, आयोजना प्रमुख भण्डारीले भने ।

कलंकी–कोटेश्वर खण्डको निर्माण सकिए लगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँदैछ । चीन सरकारको शतप्रतिशत अनुदानमा आगामी असोज महिनादेखि कलंकी महाराजगञ्ज चक्रपथ विस्तार अघि बढाउन लागिएको हो ।

चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ । निर्माण आरम्भ गरेको तीन बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ढिलोमा ४ बर्षभित्र कलंकी देखि महाराजगञ्ज खण्ड आठ लेनको बनिसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.