कालाबजारीयालाई हाईसञ्चो: अदालत धाउनै नपर्ने, जति ठगे पनि २५ हजार जरिवाना वा एक बर्ष कैद मात्रै

  २०७५ जेठ २४ गते ९:४३     नारायण पौडेल

काठमाडौं । अब कालाबजारीयालाई हाइसञ्चो हुने भएको छ । उनीहरुले जतिसुकै ठूलो ठगी गरे पनि अधिकतम एक बर्ष कैद वा २५ हजारसम्म जरिवाना तिरेर छुटकारा पाउनेछन् । त्यति मात्रै होइन अब कालाबजारीयाहरुले अदालतमा मुद्धा मामिला समेत झेल्नुपर्ने छैन् ।

कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा गरिएको संसोधन विरुद्ध परेको रिटलाई बुधबारको सम्वैधानिक इजलासले खारेज गरेसँगै कालाबजारियाहरुका लागि सुखद दिन आएको हो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ को खण्ड (क), (ख), दफा ३ को उप दफा (१), दफा ४, दफा ५ तथा दफा ६ समेतलाई संसोधन गरि कालाबजारीयहरुको सजाय १० बर्ष, ३ बर्ष, ५ बर्ष, ५ बर्ष, ५ बर्ष, २ बर्षसम्म कैद हुने र विगो बमोजिम जरीवाना वा दुबै सजाय हुने प्रावधानहरु हटाएर सबै कसुरमा १ बर्षसम्म वा सो भन्दा कम सजाय हुने व्यवस्था गरेको थियो ।

संसोधनले सबै खाले कालाबजारीयहरुलाई एक बर्षसम्म कैद वा २५ हजारसम्म जरिवाना मात्रै हुने व्यवस्था गरेपछि अधिवक्त जगन्नाथ मिश्रले सर्वाेच्च अदालतको सम्बैधानिक इजलासमा मुद्धा दायर गरेका थिए । तर बुधबार कायम मुकायम प्रधानन्याधिस दिपकराज जोशी, न्यायधिसहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, दिपक कार्की र केदारप्रसाद चालिसेको सम्बैधानिक इजलासले मिश्रको रिट नै खारेज गरिदिएको हो । अब जति ठुलो काला बजारी गरेको भएपनि एक वर्ष भन्दा कम समय जेल सजाय हुनेछ ।

त्यति मात्रै नभएर विगो बमोजिमको जरिवाना समेत तिर्नु पर्नेछैन् । नयाँ संबिधानको धारा १५२(२) मा एक वर्ष भन्दा बढि सजाय हुने फौजदारी मुद्धा अदालतले हेर्ने उल्लेख गरिएको छ । एक वर्ष भन्दा कम सजाय हुने फौजदारी मुद्धा भने प्रमुख जिल्ला अधिकारी मार्फत अघि बढाउने संवैधानिक व्यवस्थाको फाइदा उठाउँदै कालो बजारी सम्बन्धी मुद्धालाई अदालत लैजानै नपाउने व्यवस्था गरिएको हो ।

केहि नेपाल ऐन संसोधन गर्न बनेको ऐन व्यवस्थापिका संसदबाट पास गरेर २०७२ फागुन १३ गते राजपत्रमा सूचना प्रकाहित गर्दै कार्यान्वयनमा ल्याएको थियो । ऐन संसोधन विरुद्ध दायर भएको रिट खारेज भएसँगै अब काला बजारीयाहरुका लागि सुखद् दिन सुरु भएको अधिवक्ता जगन्नाथ मिश्रले आरोप लगाए । ‘अब उपभोक्ताका दिन सकिए, काला बजारीयहरुका दिन सुरु भए, सुशासनको गफ दिने प्रधानमन्त्रीले अब के गर्नुहुन्छ, हेर्न बाँकी छ’, अधिवक्ता मिश्रले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.