समाजवादको जग खन्ने बजेट आज: यस्ता छन् प्राथमिकता

  २०७५ जेठ १५ गते १०:१३     विकासन्युज

काठमाडौं । विकास र समृद्धिको नारा अघि सार्दै आएको बामपन्थी सरकारले आज संघिय बजेट ल्याउँदैछ । सुखी नेपाली, समृद्धि नेपालको मुल नारासहित बामपन्थी सरकारले ल्याउने बजेटले समाजवाद उन्मुख अर्थतन्त्रका मार्गचित्र अघि सार्ने बताउँदै आएको छ ।

बजेटमा फास्ट ट्रयाक, रेलमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना, निजगढ विमानस्थल, चीनियाँ नाका जोड्ने राजमार्गहरु, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका ठुला विकासे आयोजनाहरुले उच्च प्राथमिकता पाउनेछन् । त्यस बाहेक कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि, परियोजना धितो राखेर ऋण लिन पाउने सुबिधा, विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था लगायतका कार्यक्रम आउँदैछन् ।

समाजवादी अर्थतन्त्र निर्माणको प्रस्थानविन्दुका रुपमा ल्याउन लागिएको बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै विदेशी लगानी आकर्षण गर्ने अभियानलाई समेत बिशेष महत्व दिनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले नै तिब्र गतिको आर्थिक वृद्धिका लागि विदेशी पुँजी आवश्यक रहेको बताउँदै आएका छन् ।

सरकारले ढुकुटीको आकार वृद्धि गर्नका लागि करका दर र दायरामा व्यापक हेरफेर गर्दैछ । अनावश्यक वस्तुहरुको आयातलाई प्रतिस्थापन गर्ने सरकारको तयारी छ । अर्थमन्त्री खतिवडाले आयातको तुलनामा राजश्व संकलन कम भएको बताउँदै आएका छन् । उनले रक्सी, सवारी साधन लगायतका क्षेत्रमा करको दर केहि वृद्धि गर्दैछन् ।

सांसदहरुलाई सिधै रकम नदिएर संसदिय क्षेत्र विकास कोषमा निश्चित रकम विनियोजन गर्ने र प्रत्यक्ष निर्वाचित सांसदको अगुवाईमा आयोजना छनौट गर्न सकिने व्यवस्था अघि सारिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.