नेपाल बैंकको सेयर मूल्य निरन्तर घट्दै, यस्तो छ कारण

  २०७५ जेठ १३ गते १५:५२     विकासन्युज

काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । हाल कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बेच्न थालेका कारण बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको हो ।

किन्ने भन्दा बेच्ने बढी भएपछि यसको असर बैंकको सेयर मूल्यमा परेको हो । गत चैत १२ गते घटेर २९४ रुपैयाँमा झरेको नेपाल बैंकको सेयर त्यसपछि निरन्तर बढेको थियो ।

एक साताअघि प्रतिकित्ता ३५४ रुपैयाँ रहेको नेपाल बैंकको सेयर आइतबारसम्म आउदा २९ रुपैयाँ घटेर ३२५ रुपैयाँमा सीमित भएको छ । एफपीओको मूल्य सस्तो भएकाले अझ घट्ने लगानीकर्ताको भनाई छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ ल्याउने भएको छ ।

बैंकको सेयर घट्नुमा एफपीअाेको मूल्य मुल कारण भएको एक ब्रोकरले बताए । “२८० रुपैयाँमा एफपीओ पाउने भएपछि कसले महंगोमा सेयर किन्छ ?” ती ब्रोकरले भने । पछिल्लो समयमा बैंकको सेयर कारोबार बढी हुदै आएको छ ।

बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ ।

१ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । लगानीकर्ताले ३ अर्ब १८ करोड रुपैयाँ लाभांश पाउने छन् ।

बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ ।

यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.