राष्ट्र बैंकद्धारा ४७६ अर्बको नोट निष्कासन, एक महिनामै थपियो २ अर्बको नयाँ नोट

  २०७५ जेठ १३ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्म नोट निष्कासन बढाएको छ ।केन्द्रीय बैंकले नोट निष्कासन बढाएर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । गत चैतमा केन्द्रीय बैंकले ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । १ महिनामा झण्डै २ अर्ब रुपैयाँ बढी नोट निष्कासन गरेको छ ।

निष्कासन गरिएको मध्ये ४ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ चलन चल्तिमा रहेका छन् । केन्द्रीय बैंकसंग ९ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको नोट मौज्दातमा रहेको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको बैशाखसम्मको मासिक वासलातमा नोट निष्कासन बढेको देखाएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ ।

केन्द्रीय बैंकमा सरकारको वचत रकम २ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ छ । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । विकास खर्च बढेकाले सरकारको कोष घट्दै गएको हो । केन्द्रीय बैंकमा वाणिज्य बैंकको १ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी सेक्युरिटिजमा २ खर्ब ८४ अर्ब, सरकारको सेक्युरिटिजमा ९४ अर्ब २३ करोड, वित्तीय र संस्थानहरुको सेक्युरिटिजमा २७ अर्ब ९५ करोड अन्य संस्थाको सेक्युरिटिजमा ३१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको पुँजी ५ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकको भन्दा कम पुँजी रहेको छ । राष्ट्र बैंकको कुल सम्पत्ति ६ खर्ब ८८ अर्ब ९७ करोड रुपैयाँ छ ।

सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको । नोटको कारोबार कम गराउन सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकले नोटको कारोबारको सट्टा अब विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउन थालेको छ । विद्युतीय वित्तीय कारोबार बढेपछि राष्ट्र बैंकले धेरै नोट निष्कासन गर्नुपर्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.