जापानमा विद्यार्थीका लागी अवसर र चुनौती- नरेन्द्र चौलागार्इ

२०७५ जेठ ११ गते १६:३० विकासन्युज

पछिल्लो समय नेपाली विद्यार्थीहरु जापनिज भाषाप्रति आकर्षित भएका देखिन्छन् । नेपाली विद्यार्थीहरु स्वदेशमै उच्च शिक्षा लिने सुविधा हुँदाहुँदै किन जापनिज भाषा सिक्न जापान जान लालायित देखिन्छन् । जापान गएर विद्यार्थी के गर्छन् ? उनीहरुले पाउने अवसर र चुनौतिहरुको सम्बन्धमा एपल एजुकेशनल कन्सलटेन्सीका सञ्चालक नरेन्द्र चौलागार्इसँग प्रस्तुत छ विकासन्युजका राजाराम न्यौपानेले गरेका विकास वहसः

नरेन्द्र चौलागार्इ, सञ्चालक, एपल एजुकेशनल कन्सलटेन्सी

नेपालमा सञ्चालन भइरहेको कन्सलटेन्सी व्यवसायलाई कसरी बुझ्ने ?

यो सेवामुलक व्यवसाय हो । सुन्नमा सामान्य लाग्ने परामर्श शब्दको अर्थ वास्तवमा असामान्य छ । हामी शैक्षिक परामर्श दातृ संस्था एजकुेशनल कन्सलटन्सीको चर्चा गरिरहँदा अरु क्षेत्रको परामर्शबारे पनि बुझ्नु पर्ने हुन्छ । एकजना बिरामी डाक्टर कहाँ परामर्श लिन जाँदा निश्चित रकम खर्च गर्छ । त्यस्तै, वकिलसँग परामर्श लिन जाँदा पनि खर्च गर्नुपर्ने हुन्छ । तर हामी शैक्षिक परामर्शकर्ता व्यवसायीहरु विद्यार्थीको शैक्षिक भविष्यको परामर्श निशुल्क दिने गरेका छौं ।

नेपाली विद्यार्थीहरुका लागि जापान कस्तो गन्तव्य हो ?

जापान पढाई र अवसर दुवै राम्रो भएको देश हो । नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापान गएर भविष्य निर्माण गर्न सक्छन् । पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीका लागि राम्रो अवसरको सृजना भएको छ ।

जापानमा नेपालको जस्तो घोकाएर पढाइने शिक्षा छैन । त्यहाँ शिक्षा सीपमुलक र व्यवहारिक हुन्छ । उच्च दक्षता हासिल गरेका प्राध्यापकहरुले मात्र पढाउने भएकोले पढाई राम्रो हुन्छ । जापानमा पढाई हुने विषय प्राविधिक र व्यवहारिक छन् ।

त्यसैले राम्रोसँग अध्ययन पूरा गरेका विद्यार्थीले पछि जापानमै वर्क परमिट पाउने सम्भावना धेरै छ । उनीहरुले आफुले सिकेको सीपलाई प्रयोग त्यहीँ प्रयोग गर्न सक्नेछन् । नेपालमा शिक्षा हाँसिल गरेर पनि भौतारिने अवस्था छ । तर जापानको शिक्षाबाट सहज रुपमा शिक्षा लिन सकिन्छ ।

जापान अध्ययन गर्न जाने विद्यार्थीका लागि चुनौतीहरु के के छन् ?

विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिनुपर्छ । त्यसका लागि पूर्व तयारी गर्नु पर्ने हुन्छ । त्यो भनेकोे त्यहाँ गएर पढ्नका लागि चाहिने शुरुवाति खर्चको व्यवस्था पहिला नै गर्नुपर्छ । जापानमा पुग्ने वित्तिकै काम र पैसा दुवैको पछि लाग्नु भनेको थप चुनौति व्योहर्नु हो ।

तर जापान जानेसाथै विद्यार्थीहरु कामतिर केन्द्रित भएको देखिन्छ । विद्यार्थीहरुले बुझ्नु पर्ने कुरा पढाइ छोडेर काममा लाग्ने विद्यार्थीको भविष्य राम्रो बन्नै सक्दैन । अभिभावकले पनि आफ्ना छोराछोरी जापान पठाएपछि तत्काल पैसा पठाउँछ भन्ने सोच राख्नुहुँदैन । यहाँ विदेश अध्ययनका लागि जान सथै कमाइ हुन्छ भन्ने मान्यता छ । यस्तो गल्ती गरियो भने वैदेशिक शिक्षा हासिल गर्ने सपना पूरा हुन सक्दैन ।

जापान गएर सफल बन्न के कुरामा ध्यान दिनुपर्छ ?

सफलताका लागि त भविष्यको योजना बनाउनुपर्छ र सोहीअनुसार चल्नु सक्नुपर्छ । पढाईलाई प्राथमिकतामा राख्न सकेका मात्र जापान गएर सफलता हात पार्न सकिन्छ । छोराछोरीलाई भविष्यमा अभिभावकको सोचमा निर्भर हुन्छ । भविश्यमा बच्चाहरुलाई के बनाउने शुरुमै स्पष्ट हुनुपर्छ । जापान जाने विद्यार्थीले पनि सोही अनुसारको योजना बनाउनुपर्छ ।

जापान गएर पढाइका लागि धेरै मिहिनेत गर्न सक्छु भन्ने दृढता विद्यार्थीमा हुनुपर्छ । जापानिज भाषामा दक्ष बनेर मात्रै जापान जानुपर्छ । विद्यार्थीले परामर्शदाताबाट ठगिनबाट जोगिनका लागि सचेत बन्नुपर्छ । कन्सल्टेन्सीले पैसा मागेको भरमा दिइहाल्नु हुँदैन ।

धेरै नेपाली विद्यार्थी जापान पुगिसकेका छन् । त्यहाँको अवस्था कस्तो छ ?

त्यहाँ रहेका नेपालीको मानसिकता कसरी पैसा कमाउने भन्ने रहेको छ । जो गलत छ । यद्यपी भविष्यको योजना बनाएर इमानदारीताका साथ पढ्ने नेपालीको अवस्था राम्रो छ । त्यहाँ गएर राम्रोसँग पढाई पूरा गरेका विद्यार्थीले जापानमै राम्रो अवसर हासिल गरेका छन् ।

त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ?

परामर्शदाताले जापानमा पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमानदारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीका भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापानमा पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ ।

नेपालमा रहेको कन्सलटेन्सीले जापान जाने विद्यार्थीको लागि कस्तो सेवा दिने गरेको छ ?

हामीले जापानमा पढ्न जानका लागि आधारभूत आवश्यकता मानिएको जापानिज भाषा सिकाउँछौँ । विद्यार्थीलाई भाषामा दक्ष बनाएर मात्र प्रक्रिया सुरु गछौँ । विद्यार्थीका हित विपरितका कुरा गर्दैनौँ । पढ्न जानुअघि पार्ट टाईम जब, त्यहाँको निमय, खाने बस्ने अवस्था लगायतका सबै कुरामा जानकारी गराउँछौँ ।

नेपालमा नभएका कोर्ष पढ्नका लागि विद्यार्थीहरुलाई अन्य देश पनि पढाउने गरेको हो । हाम्रो देशमा नै विद्यार्थीले चाहेका विषयका कोर्षहरु भएको खण्डमा नेपाली विद्यार्थीहरुले नेपालमा नै पढ्न सक्थे । सरकारले विद्यार्थीले पढ्न चाहेको कोर्ष पनि व्यवस्थापन गराउन नसक्ने अनि हामीलाई मेनपावर व्यवसायी भन्नुको कुनै अर्थ छैन ।

नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ?

सबै वर्गका विद्यार्थीहरु छन् । विदेश अध्ययन गरेर राम्रो शिक्षा प्राप्त गर्न चाहाने विद्यार्थी धेरै छन् । यस्तै किसिमका विद्यार्थी वा वर्ग भनेर सिमा छैन । राजनीतिज्ञ र कर्मचारीहरुको तुलनामा सामान्य परिवारका विद्यार्थीहरु अध्ययनका लागि धेरै जान्छन् । विदेशमा अध्ययनपछि राम्रो कमाइ हुन्छ । पढ्दापढ्दै पनि विद्यार्थीको काम गर्ने अवसर त्यहाँको नीतिले खुलाइ दिएको छ । विदेशको शिक्षा विश्व बजारमा राम्रो स्कोप छ ।

जापान पढ्नको लागि छात्रवृत्तिको व्यवस्था कस्तो छ ?

राम्रोसँग शैक्षिक तयारी गरेर पढ्न जाने विद्यार्थीले छात्रवृत्ति पाउन सक्छन् । तर करिब ९५ प्रतिशत नेपाली विद्यार्थी नपढिकन जाने भएकाले छात्रवृत्ति पाउन सकेका छैनन् । अहिलेसम्म नेपाली विद्यार्थीलाई लक्षित गरेर कोटा घटाएको छैन । जापानले विगतको तुलनामा आफ्नो नियमलाई केही कडा गरेको बताएको छ ।

नेपाली विद्यार्थीहरु किन विदेश पढ्न गएका हुन् ?

नेपाली विद्यार्थीहरु नेपालमा अवसर र सम्भावना नदेखेर विदेश अध्ययन गर्न जाने गर्छन् । नेपालमा मास्टर गरेकाहरुले कुनै रोजगार पाएका छैनन् । विदेशमा गएर अध्ययन सकिएसंगै रोजगारी फेला परिहाल्छ । सरकारले नै यति समय काम गर भनेर छुटाइ दिएको हुन्छ । पढ्न गएको देशमा तोकेकोभन्दा बढी काम गरे करबाही गर्छ ।

कन्सलटेन्सीहरुका चुनौती के छन् ?

हामी जस्तो शैक्षिक परामर्शदातृृ संस्थाले धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थी र उनको परिवारलाई सबै कुरा बुझाउनु पर्यो । कुनै पनि समस्याले विद्यार्थी सम्बन्धित देश जान पाएन भने त्यसको जिमेवारी लिनु पर्यो । विभिन्न देशहरुका कलेजहरूसंग नजिक हुनु पर्यो । नेपाली जनमानसले कन्सलटेन्सीहरुलाई राम्रो नजरले हेर्ने परिपाटी बसिसकेको छैन । विस्तारै जनमानसको बुझाइमा परिवर्तन गर्नु आवश्यक छ । नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेभन्दा पनि आर्थिक लाभ लिन जाने भन्ने समाजको मानसिकता छ ।

कलेज र विश्वाविद्यालयका एजेन्टका रुपमा परामर्श गर्दै आएका छौं । जसले हामी आफैलाई हामी परामर्श दातृ संस्था कि विश्वविद्यालय वा कलेजका एजेन्ट हौ भन्ने विषय प्रश्नका रुपमा अगाडि सोझिएको छ । जसको हामीसँग उत्तर छैन । यही व्यवहारले हामी परामर्श दातृ संस्थाभन्दा बढी विदेशी विश्वविद्यालय वा कलेजका एजेन्टका रुपमा प्रस्तुत गरिरहेको छ ।

सरकारले किन समय-समयमा अनुगमन गर्ने गर्छ ?

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब २ हजार परामर्श व्यवसायीहरु दर्ता भएका छन् । तर, अझैपनि कतिपय कन्सल्टेन्सीहरु, कोचिङ सेन्टरहरु, कम्प्युटर पढाउने संस्थाहरु दर्ता बिना नै निर्वाध रुपमा चलिरहेका छन् । हामीले गर्ने शौक्षिक परामर्शका बिम्बहरुलाई पहिल्याउँदा अभिभावक, विद्यार्थी र उसले पढ्ने संस्थासँग जोडिन जान्छ । मूलत नेपाली विद्यार्थीहरुको शौक्षिक प्रमाणपत्र र आर्थिक क्षमता जगमा बसेर उचित सल्लाह र सुझाव दिँदै आएका छौं । केहीले फटाई गर्छन् कि भनेर भए पनि बेला-बेलामा अनुगमन गरिरहनु पर्छ ।

विद्यार्थीहरुले सही परामर्श प्राप्त गरुन् । साँचो परामर्श दातृ संस्थाका रुपमा स्थापित हुन सकौं । जसले देशभित्र र देशबाहिर उचित परामर्श दिइ नेपाली वा विदेशी विद्यार्थीको हित अनुकूल कार्य गर्न सकून् भनेर पनि समय-समयमा अनुगमन आवश्यक रहेको देखिन्छ ।