आउँदो ३ वर्षमा बिजुली उत्पादन ३ हजार मेगावाट पुग्दै, यी हुन् आयोजना

  २०७५ जेठ ३ गते १९:१९     विकासन्युज

काठमाडौं । आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो ।

३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ ।

आउँदो ३ वर्षभित्र सम्पन्न हुन आयोजनामा राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ । सम्पन्न हुन लागेको यो सबैभन्दा ठुलो आयोजना हो । यो आयोजना आउँदो आर्थिक वर्ष २०७५÷७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

३ वर्षमा विद्युत प्राधिकरणको लगानीमा ६० मेगावाटमा माथिल्लो त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र २५ मेगावाटको सोलार समेत गरी ९९ मेगावाट बिजुली थप हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणअन्तर्गतका यस्तै सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र ३७ मेगावाटको त्रिशुली ३ बी आयोजना सम्पन्न हुनेछन् ।

यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, २० मेगावाटको मोदी, २१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको अपर चाकु ए, ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्री खोलालगायत साना र ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुनेछन् ।

यी आयोजना सम्पन्न भएपछि भारतबाट बिजुलीको आयात बन्द हुने छ । लोडसेडिङ् हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । विद्युत क्षेत्रको समग्र विकास गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने ऊर्जाका अन्य स्रोतहरुलाई विद्युतीय ऊर्जाले विस्थापित गरी व्यापार घाटा कम गर्न, उत्पादित विद्युत ऊर्जाको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न तथा आम जनतामा विद्युत ऊर्जाको पहुँच बढाउने सरकारको योजना छ ।

चालु आर्थिक वर्षमा ढेढ दर्जन आयोजना सम्पन्न भई १९४ मेगावाट बिजुली थप हुदैछ । आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.