यातायात व्यवसायीलाई सरकारले नछाड्ने, समितिको नाममा रहेको सम्पत्ति खोजी तिब्र

  २०७५ जेठ २ गते ८:५४     विकासन्युज

काठमाडौँ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ ।

गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल सेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो ।

यसअघि एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नाका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो ।

आजको बैठक बैंक खाता रोक्का गरिएका ती समितिबाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.