व्यवसाय विस्तारमा प्रभु बैंक, १ अर्ब ऋणपत्र निष्कासन गर्दै

  २०७५ वैशाख २० गते १०:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले व्यवसाय विस्तार गर्न १ अर्ब रुपैयाँको ऋणपत्र (डिबेञ्चर तथा बण्ड) निष्कासन गर्ने भएको छ । बैंकले आउँदो जेठ १० गते बस्ने १६ औं वार्षिक साधारणसभामा ऋणपत्र निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

साधारणसभाबाट पारित भएपछि बैंकले ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा जानेछ । पुँजीगत आधार मजवुत र व्यवसाय विस्तार गर्न ऋणपत्र निष्कासन गर्न लागेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशाेक शेरचनले बताए । उनले छिट्टै ऋणपत्र निष्कासन गर्ने जानकारी दिए । यद्यपी प्रक्रियागत कारण निष्कासन लम्बिन पनि सक्ने छ । उनले बैंकसंग लगानीयोग्य पुँजी पनि कम भएकाले ऋणपत्र निष्कासन गरेर बढाउन खोजेको प्रष्टपारे ।

यसअघि ऋणपत्र निष्कासन गर्न साधारणसभामा जानुपर्ने प्रावधान थिएन । अहिले ऋणपत्रका लागि पनि साधारणसभाबाट पारित गर्नुपर्ने भएपछि बैंकले प्रस्तावको रुपमा लैजान लागेको हो । गत चैतसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७४.४९ प्रतिशत छ ।

बैंकको हाल पुँजी पर्याप्तता १२.६८ प्रतिशत छ । पुँजी पर्याप्ताको अवस्था कम भएपछि यसलाई विस्तार गर्नका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको उनको भनाई छ । पुँजी पर्याप्तता ११ प्रतिशत भन्दा कम हुनुहुदैन् । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । गत चैतसम्म बैंकले ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

सञ्चालक समितिमा न्युनतम १ जना महिला हुने गरी नियमावली संशोधनको प्रस्ताव अनुमोदनका लागि सभामा लैजाने भएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति वा गाभ्ने काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि परित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफबाट सेयरधनीलाई लाभांश भने घोषणा गरेको छैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.