गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

  २०७५ वैशाख ६ गते ९:४६     विकासन्युज

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।”

उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे ।

“हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”