यातायात व्यवसायी संघले बैशाख १२ र १३ गते सबै गाडी सडकमा छोड्ने, २१ देखि यातायात सेवा ठप्प पार्ने

  २०७५ वैशाख ५ गते ११:३९     खेमराज श्रेष्ठ

काठमाडौं । सिण्डीकेट पक्षधर यातायात व्यवसायीहरुले बैशाख २१ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि सारेर बैशाख २१ देखि अनिश्चित कालिन यातायात बन्दको घोषणा गरेका हुन् ।

उनीहरुले २१ गते आफ्ना सवारी साधनहरुलाई घर ग्यारेजमा धन्क्याउने र २७ गतेपछि अनिश्चितकालसम्म यातायात सेवा ठप्प पार्ने बताएका हुन् ।

सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल रहेका छन् ।

उनीहरुले बैशाख १२ र १३ गते सबै सवारी साधनहरुलाई सडकमा उतारेर सवारी आवागमन अस्तव्यस्त बनाउने लगायतका कार्यक्रम अघि सारेका छन् । त्यस्तै, बैशाख १४ र १५ गते कुनै पनि सवारी साधनलाई क्युमा सञ्चालन नगर्ने बताएका छन् ।

नेपाली व्यवसायीहरुको १० खर्बको लगानी र ४० लाख रोजगारी खोस्न सरकार लागि परेको आरोप समेत लगाएका छन् । संयुक्त आन्दोलनका संयोजक योगेन्द्र नाथ कर्माचार्यले बैशाख ७ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना समस्या राख्ने पनि बताए ।

यस्ता छन् यातायात व्यवसायीका आन्दोलनका कार्यक्रमहरु

१. बैशाख ८ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

२. बैशाख ९ गते सबै राजनितिक दलका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउने

३. बैशाख १२ र १३ गते सबै सवारीलाई तालिका बिनै छोड्ने

४. बैशाख १४ र १५ गते काठमाडौं र प्रदेश राजधानीमा क्यू फ्रि छोड्ने

५. बैशाख २१ गते सबै सवारी ग्यारेजमा थन्क्याउने

६. बैशाख २७ गतेदेखि अनिश्चित कालिन यातायात बन्द गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.