२५ किलोमिटर सडकमा २७ सय अवरोध

  २०७५ वैशाख ४ गते १३:२५     नारायण पौडेल

काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडकको कुल लम्बाई २४.९८ किलोमिटर मात्रै छ । जसमा त्रिपुरेश्वरदेखि नागढुंगाको लम्बाई १२.४८ किलोमिटर छ भने चावहिल जोरपाटी देखि साँखुको लम्बाई १२.५० किलोमिटरको मात्रै छ ।

यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर हुन आउँछ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा ११ सय ४९ वटा अवरोध रहेका छन् ।

त्यस्तै, चावहिल-जोरपाटी-साँखु सडकमा १५ सय ८६ वटा अवरोध रहेका छन् । ‘एक किलोमिटर सडकमा एक सय भन्दा बढि अवरोध छन्, घर भत्काउन सकिएको छैन, विद्युतका पोल, टेलिफोनका पोल, रुख, खानेपानी ट्यांकी जस्ता अवरोधहरुको चाङ लागेको छ’, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख केसीले भने ।

प्रधानमन्त्री कार्यालयले आयोजना गरेको सडक विस्तार सम्बन्धी छलफलमा पनि आयोजना प्रमुख केसीले सडक विस्तारमा राइट अफ वे भित्र पर्ने संरचनाहरु नहेटेको, सर्वाेच्च अदालतले असोज २ गतेको फैसलाको पुर्ण पाठ जारी नगरेको लगायतका समस्या सुनाएका थिए । त्रिपुरेश्वर-कलंकी-नागढुंगा १२.४८ किलोमिटर सडक खण्डमा १ हजार १ सय ४९ वटा अवरोध रहेका छन् ।

तीमध्ये ५७० वटा घर टहरा, ३१२ वटा विद्युतका पोल, २७ वटा ट्रान्सफरमर, १७२ वटा टेलिफोनका पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, १५ वटा टेलिफोनका म्यान होल र १ वटा पानी ट्यांकी रहेका छन् ।

त्यस्तै, १२.५० किलोमिटर दुरीको चावहिल-जोरपाटी-साँखु सडकमा १ हजार ५सय ८६ वटा अवरोध रहेका छन् । तीमध्ये ४ सय ८८ वटा घर टहरा, ४ सय ८६ वटा विद्युतका पोल, ३ सय ३० वटा रुख, २०६ वटा टेलिफोनका पोल, २६ वटा ट्रान्सफरमर, १९ वटा टेलिफोन क्याबिनेट र १ वटा पानी ट्यांकी रहेका छन् ।

अवरोध नभएका ठाउँमा धमाधम कालोपत्रे
आयोजनाका प्रवक्ता विश्वविजय लाल श्रेष्ठले त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकमा पाँच किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम अघि बढेको बताए । त्यस्तै, चावहिल जोरपाटी साँखु सडकमा करिब ३ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने तयारी अघि बढेको पनि बताए ।

यी दुबै खण्डमा अवरोध नभएका ठाउँमा कालोपत्रे गर्ने सरकारी निर्देशन अनुसार काम अघि बढाएको र चालु आव भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको पनि श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.