९०० मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब लगानी गर्ने, औपचारिक सम्झौता हुन बाँकी

  २०७४ चैत २५ गते १८:१३     विकासन्युज

काठमाडौं । भारत सरकार स्वामित्वको एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुणतेस्रो आयोजनामा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

आयोजनामा ऋण लगानी गर्ने विषयमा स्टेट बैंक र प्रवद्र्धक एसजेवीएन सहमत भएका छन् । स्टेट पनि सरकार स्वामित्वको बैंक हो । यद्यपी औपचारिक ऋण सम्झौता हुन बाँकी छ । बैंकको सञ्चालक समितिले पारित गरेपछि मात्र ऋण सम्झौता हुने छ । ऋणदिने र ब्याजदर लिने विषयमा दुई पक्षबीच सहमति भइसकेको छ स्रोतले जानकारी दियो ।

विद्युत उत्पादन संरचना बनाउन स्टेट बैंकले ऋण लगानी गर्न सहमति जनाएको हो । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ ।

एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।

नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी गरेको छ । यसका लागि एसजेविएनले नेपाली बैंकसंग पुनः प्रस्ताव मागेको छ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल

लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

लगानी बोर्डले एसजेविएनलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । संभवत बैशाखभित्र उसले लाइसेन्स पाउने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ ।
आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।

प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो ।

आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.