६८८ मेगावाटको वेतन कर्णाली बनाउन संचयकर्ताबाट ३ अर्ब जुट्यो, ८१ प्रतिशत नाफा आयोजनामा लगानी हुने

  २०७४ चैत १ गते १९:२३     विकासन्युज

काठमाडौं । प्रस्तावित ६८८ मेगावाटको वेतान कर्णाली जलविद्युत आयोजना बनाउन कर्मचारी संचय कोषका संचयकर्ताबाट २ अर्ब ८२ करोड रुपैयाँ जुटेको छ ।

संचय कोषले गत आर्थिक वर्षमा गरेको नाफाको ८१ प्रतिशत रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा सेयरको रुपमा लगानी भएको छ । गत आवमा कोषले १ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।

अघिल्लो आवमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । कोषले सञ्चयकर्तालाई ०.७५ प्रतिशतका दरले नाफा वितरण गरेको छ । कोषले आयोजनामा लगानी जुटाउन सञ्चयकर्ताको नाफालाई जलविद्युतको सेयरमा लगानी गर्ने तयारी थालेको हो ।

कोषले आयोजनामा हालसम्म ८ करोड रुपैयाँ लगानी गरिसकेको जानकारी दिएको छ । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने कोषका कामुप्रशासक दीपक रौनियारले बताए । प्रत्येक वर्ष कोषको नाफा बढ्दै गएकाले स्वपूँजीका लागि समस्या नभएको जानकारी दिए ।

वेतन कर्णालीले आवश्यक ५० अर्ब रुपैयाँ ऋणको व्यवस्थापन गर्न कोषलाई अनुरोध गरेको रौनियारले बताए । “कम्पनीले अनुरोध गरेकाले ऋण पनि कोषले व्यवस्थापन गर्ने छ” उनले भने “आयोजना आर्थिक रुपमा आर्कषक भएकाले संचयकर्ताले राम्रो प्रतिफल पाउने छन् ।”

हाल नेपाल विद्युत प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले कर्णाली वेतानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी थालेको उनले जानकारी दिए । कम्पनीले डीपीआरको काम थालेको छ । आउदो एक वर्षभित्र डीपीआर तयार भइसक्ने छ ।

कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्नेछ । कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली लागु गरेको छ । यस्तै कोष, नेपाल विद्युत प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको हो ।

अर्धजलासययुक्त आयोजना ( पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ । जसअनुसार हिउँदमा १ अर्ब ४९ करोड २० लाख र वर्षादमा २ अर्ब ७७ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ ।

कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका सञ्चयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । वर्षेनी नाफा बढ्दै गएकाले रकम थपिने छ ।

ऊर्जा मन्त्रालयले वेतन कर्णालीलाई अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न हुने छ । आयोजना सुर्खेत र आछम जिल्लामा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.