राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ६ अर्ब १० करोड, बिहीबार १० अर्ब पठाउने

  २०७४ फागुन ३० गते १८:१३     विकासन्युज

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ६ अर्ब १० करोड रुपैयाँ उठाएका छन् ।

तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

बुधबार आधा दर्जन बैंकले मात्र पैसा उठाएको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम बैंकिङ प्रणालीमा पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले कम उठाए पनि राष्ट्र बैंकले बिहीबार पनि बजारमा पैसा पठाउने भएको छ । बिहीबार केन्द्रीय बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो । ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.