बैशाखदेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै, घट्ला त बजार मूल्य ?

  २०७४ फागुन २९ गते ९:४८     विकासन्युज

काठमाडौं । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो बैशाखदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ ।

आउदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने भएको हो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो ।

होङसीले बैशाखदेखि औपचारिक रुपमा सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । उनले पुर्वाधारलगायत सबै प्रक्रिया चैतमा पुरा गरी नयाँ वर्षदेखि सिमेन्ट उत्पादन थाल्ने बताए । उनीहरुले अप्रिलसम्म सिमेन्ट उत्पादन गर्ने जानकारी गराएको अधिकारीको भनाई छ ।

होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम सुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ ।

गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ ।

कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।

बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ ।कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.