मेची-महाकाली रेलः मुख्यमन्त्रीलाई ब्रिफिङ, दशैं अघि डीपीआर

  २०७४ फागुन २२ गते १०:२१     नारायण पौडेल

काठमाडौं । मेची-महाकाली रेलमार्गबारे प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु भएको छ । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार हाल डीपीआर निर्माणको काम भैरहेको प्रदेश ५ र ७ नम्बरका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गर्न लागिएको हो । विभागको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सोमबार ब्रिफिङ गरेको छ भने प्रदेश ७ का मुख्यमन्त्रीलाई ब्रिफिङ गर्न टोली धनगढी लागेको छ ।‘मेची महाकाली रेलमार्गबारे सम्बन्धीत प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु गरेका छौं, हाल डीपीआर निर्माणको काम भैरहेका प्रदेश नम्बर ५ र ७ का मुख्यमन्त्रीलाई रेलबारे जानकारी दिन लागेको हौं, यसले काम गर्न पनि सहजता ल्याउँछ’, उपाध्यायले भने ।

विभागले हालसम्म काकडभिट्टादेखि वुटवलसम्मको ६१९ किलोमिटर लामो रेलमार्गको डीपीआर तयार पारिसकेको छ । हाल बुटवलदेखि गड्डाचौकीसम्मको ४२१ किलोमिटरको डीपीआर पनि दशैं अघि नै सम्पन्न गर्ने योजनासहित काम भैरहेको छ । रेलमार्ग निर्माणका क्रममा आउन सक्ने सम्भावित अवरोध हटाउन र प्रदेश सरकासँग समन्वयका लागि मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गरिएको हो । सरकारले मेची-महाकाली रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर काम अघि बढाएको छ ।

नेपालगञ्ज देखि नेपालगञ्जसम्मको १२ किलोमिटरमा पनि
। विभागले भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्जसम्म निर्माण हुने १२ किलोमिटर लामो रेलमार्गकाबारेमा पनि भारतीय टोलीसँग छलफल गरेको छ । त्यसका १२ मार्चदेखि डीपीआर निर्माणको काम अघि बढाउने निर्णय भएको पनि उपाध्यायले जानकारी दिए ।

विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ ।

हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ ।

त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.