नकुहिने प्लाष्टिक उत्पादकलाई प्रतिबन्ध लगाउने: मन्त्री पण्डित

  २०७४ फागुन १५ गते १३:०८     विकासन्युज

भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताएका छन् ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अब आयात हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दावी छ ।

उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताएका छन् । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारीधनी र कर्मचारीलाई समेत कारवाही गरिने उनले बताए ।

त्यस्तै, वातावरणको ख्याल नगरि कानुन मिच्दै निश्चित ब्यक्तिले फाईदा लिई रहेको ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको मन्त्री पण्डितले बताए । विश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौंलाई अबको एक बर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको बताएका छन् ।

वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनको दावी छ । साथै, उनले एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिग्र्रानेहरुलाई कारवाहीको दायरमा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको विकास तर्फ लाग्ने जानकारी दिएका छन् ।

उनले फोहोर गर्नेलाई समाज स्तरबाटै कारवाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उनको भनाई छ । सञ्चारकर्मीहरुको जिज्ञासालाई पूणता दिँदै उनले मन्त्री मण्डलको विस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्तादिन सम्ममा मन्त्री मण्डलले पूर्णता पाउने जानकारी गराएका छन् ।

सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संसोधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने मन्त्री पण्डितको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.