गुण्डा नाइके पुन र आले मारिए

  २०७४ फागुन ९ गते १०:५०     विकासन्युज

बुटवल । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका छन् ।रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।

देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ । अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.