ट्राफिक नियम मिचेर भाग्नेलाई प्रहरीले घरमै गई कारबाही गर्ने

  २०७४ फागुन २ गते १६:५३     अच्युत रेग्मी

काठमाडौँ । ट्राफिक नियम मिच्नेलाई प्रहरीले घरमै गए पनि नछोड्ने भएको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने व्यक्तिको संख्या बढेपछि प्रहरीले नयाँ प्रक्रिया अपनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको मध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो । अब प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको  छ । महाशाखाले नियम मिच्ने सवारी साधनलाई सिसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताए । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” – उनले भने।

सिसी क्यामरामार्फत महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गर्ने भएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.