बर्सेनी नाफा बढाउँदै नेपाल टेलिकम, प्रतिसेयर आम्दानी १०२ रुपैयाँ

  २०७४ माघ २२ गते १०:०५     विकासन्युज

काठमाडौं । सरकार संलग्न अधिकांश कम्पनी ओरालो लागिरहेका बेला नेपाल टेलिकमले भने निरन्तर प्रगति गरिरहेको छ । बहुमत सेयर सरकारले ओगटेको टेलिकमले सरकारी निर्णय प्रक्रियालाई छिचोल्दै नाफा, गुणस्तर र सेवा विस्तारमा आफुलाई अब्बल सावित गरिरहेको छ । नेपाल टेलिकमले १५ औं बार्षिकोत्सव मनाईरहँदा खुद नाफा १५ अर्ब ३७ करोड पुर्याएको छ । त्यस्तै, प्रतिसेयर आम्दानी (ईपीएस) बर्सेनी बढ्ने क्रमा छ र अहिले १०२ रुपैयाँ ४९ पैसा पुगेको छ ।

४ वर्षको अवधिमा टेलिकमका लगानीकर्ताको ईपीएस २५ रुपैयाँ बढेको छ । गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यो वर्ष गत वर्षको भन्दा बढी लाभांश दिने अवस्थामा टेलिकम पुगेको छ । चालु आर्थिक वर्षमा टेलिकमको ईपीएस अझै बढ्ने छ ।

बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएका बेला नेपाल टेलिकमको भने बढेको छ । आव ०७०/०७१ मा टेलिकमको ईपीएस ७७ रुपैयाँ १२ पैसा थियो । ०७१/०७२ मा बढेर ९७ रुपैयाँ पुगेको थियो । ०७२/०७३ मा ईपीएस घटेर ९० रुपैयाँमा झरेको थियो । नाफा वर्षेनी बढ्दै गएकाले उसको ईपीएसमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा टेलिकमको खुदनाफा बढेर १५ अर्ब ३७ करोड २७ लाख रुपैयाँ भएको थियो । यो वर्ष नाफा अझ बढ्ने प्रक्षेपण टेलिकमको छ । ४ वर्षअघि टेलिकमको नाफा ११ अर्ब ५६ करोड रुपैयाँ थियो । ४ वर्षमा टेलिकमले नाफा ४ अर्ब रुपैयाँ बढाएको छ ।
गत वर्ष टेलिकमले ४४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको थियो । ४ वर्षअघि टेलिकमको आम्दान ि३९ अर्ब ६७ करोड रुपैयाँ थियो । टेलिकमको आम्दानी वर्षेनी बढ्दै गएको देखिन्छ ।

टेलिकमले गत वर्षमात्र अग्रिम आय, मूल्य अभिवृद्धि कर, दुरसञ्चार सेवा शुल्क, स्वामित्व शुल्क, भन्सार शुल्क, रोयल्टी आरटीडीएफ, लाभांश र सम्पत्ति र सवारीसाधन गरी २४ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ कर सरकारलाई बुझाएको थियो । चालु आवको पुससम्म टेलिकमले लाभांश बाहेक साढे ६ अर्ब रुपैयाँ कर बुझाएको छ । ४ वर्षअघि टेलिकमले २० अर्ब ३५ करोड रुपैयाँ कर सरकारलाई बुझाएको थियो ।

चौथो पुस्ता सेवा सुरु गरेको टेलिकमले यो वर्षदेखि नेपाल–चीन ट्रान्सबोर्डर अप्टिकल लिंकको पनि सुरु गरेको छ । गत मंसिरसम्म टेलिकमको भ्वाइस सेवातर्फ १ करोड ८५ लाख ५८ हजार बढी ग्राहक पुगेका छन् । जीएसएम मोवाइलका प्रयोगकर्ता १ करोड ६२ लाख २५हजार, सीडीएमए सेवाका १५ लाख ५० हजार र पीएसटीएन सेवाका ६ लाख ८२ हजार ग्राहक छन् । टेलिकमको भ्वाइस सेवातर्फको बजार हिस्सा ४९ प्रतिशत पुगेको जानकारी दिएको छ ।

यस्तै इन्टरनेट डाटा सेवातर्फ पनि प्रयोगकर्ताको संख्या ८९ लाख ३५ हजार पुगेको छ । डाटा सेवातर्फ ५२.७३ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले जनाएको छ । टेलिकमले फोरजी सेवा विस्तार र द्रुतगतिको इन्टरनेट सेवा दिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.