२०७४ माघ १ गते १२:३१ विकासन्युज
काठमाडौं । कामना सेवा विकास बैंकले आउदो ३ वर्षमा ७० करोड रुपैयाँ खुदनाफा गर्ने भएको छ । कामना र सेवा विकास बैंक एकआपसमा गाभिएपछि बनेको कामना सेवाले ३ वर्षमा व्यवसाय विस्तार गरी नाफा बढाउन भएको हो ।
बैंकले चालु आर्थिक वर्ष ०७४/०७५ मा ४९ करोड ५ लाख रुपैयाँ खुदनाफाको प्रक्षेपण गरेको छ । आगामी आव ०७५/०७६ मा ६७ करोड र ०७६/०७७ मा ६९ करोड ५० लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढ्ने छ । आउदो ३ वर्षमा बैंकको ईपीएस बढेर २७ रुपैयाँ ४४ पैसा पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको ईपीएस १९.३७, आगामी वर्ष २६.४६ र ३ वर्षमा २७.४४ रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
आव ०७६/०७७ मा बैंकको निक्षेप परिचालन बढेर २८ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ । चालु आवमा निक्षेप १७ अर्ब १४ करोड र आगामी वर्ष २४ अर्ब रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ । आव ०७६/०७७ मा कर्जा लगानी २२ अर्ब ६० करोड रुपैयाँ हुनेछ । चालु आवमा १५ अर्ब ७० करोड, आगामी वर्ष १८ अर्ब ८४ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।
बैंकको संचित कोष बढेर १ अर्ब ९९ करोड ९१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस्तै चालु आवमा बैंकको चुक्तापुँजी बढेर २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ पुग्ने छ । बैंकको सेयर संख्या २५ हजार ३२६ कित्ता पुग्ने छ ।
बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको छ । हकप्रद निष्कासन माघ १५ देखि सुरु भई फागुन २१ गतेदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.