निक्षेपको तुलनमा कर्जा लगानी बढेपछि राष्ट्र बैंकले सावधानी अपनाउन भन्यो

  २०७४ पुष १० गते ११:००     विकासन्युज

काठमाडौं । निक्षेप परिचालनको तुलनमा कर्जा प्रवाह बढी भएपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दे बैंकको कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले मात्र वृद्धि भएपछि वित्तीय असन्तुलन आउन भन्दै सचेत गराएको छ ।

“कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ” राष्ट्र बैंकले भनेको छ ।

स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भइसकेकोले स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकले स्थानिय तहबाट हुने खर्चमा विस्तार भएमा वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिने बताएको छ ।
कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर २४ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २१ खर्ब ७ अर्ब २० करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.२ प्रतिशत घर जग्गाको धितोमा र १४.५ प्रतिशत चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ र १४.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४३.६ प्रतिशत अर्थात २८ अर्ब ११ करोड रुपैयाँ वृद्धि भई ९२ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४ प्रतिशतले बढेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ३.६ तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.५ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.