जनरल इन्स्योरेन्स कम्पनीका संस्थापकले पैसा हाल्न मानेनन्

  २०७४ मंसिर १३ गते १२:०६     विकासन्युज

काठमाडौं । बीमा समितिबाट सेवा सञ्चालनको प्रारम्भिक अनुमति(एलओआई) लिएको जनरल इन्स्योरेन्स कम्पनी नेपालका संस्थापक लगानी कर्ताले नै पैसा हाल्न अटेर गरेका छन् । संस्थापक सेयरधनीले नै पैसा नहालेपछि कम्पनीले तेश्रो पटक सार्वजनिक सूचना प्रकाशित गरेको छ । मंसिर मसान्तभित्र पैसा जम्मा नगर्ने संस्थापकहरुको सेयर अन्यलाई बेच्ने पनि कम्पनीले चेतावनी दिएको छ ।

कम्पनीले असोज २३ गते, कात्तिक २८ गते र मंसिर १३ गते गरि तीन पटक सार्वजनिक सूचना प्रकाशित गरेर लगानीका प्रतिवद्धता गरिएको रकम जम्मा गर्न संस्थापकहरुलाई आग्रह गरेको हो । ‘मंसिर मसान्त भित्र लिन कबुल गरेको रकम सानिमा बैंकको खातामा जम्मा गर्न सुचित गरिन्छ, १५ दिन भित्र रकम जम्मा नगर्नेहरुलाई संस्थापक सेयरधनी कायम गर्न नसकिने र उक्त सेयर कानुन बमोजिम अन्य व्यक्तिहरुलाई बिक्रि गरिने व्यवहोरा समेत यसै सूचनाद्धारा सुचित गरिन्छ’, जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको सूचनामा लेखिएको छ ।

संस्थापक लगानी कर्ताले १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । संस्थापक भनिएका लगानी कर्ताले सेयरका लागि पैसा नहालेमा अन्य लगानी कर्ताले १५ प्रतिशत नबढ्ने गरि लगानी गर्न सक्ने बीमा समितिका साम्भराज लामिछानेले बताए । बाहिरका लगानीकर्ताले भने संस्थापक सेयरका लागि पैसा हाल्न पाउने छैनन् । बीमा समितिले पुस १७ गतेभित्र संस्थापक सेयर धनीको हिस्सा वापतको रकम जम्मा गर्न भनेको थियो । संस्थापकको हिस्सामा पर्ने ७० करोड पुँजीमध्ये ५५ करोड बैंक खातामा जम्मा गरेर बीमा समितिलाई एअर मार्क गर्नुपर्ने व्यवस्था रहेको छ । बाँकी १५ करोड भने कम्पनीले सञ्चालन खर्चका लागि आफै उपयोग गर्न पाउनेछ ।

बीमा समितिबाट बीमा कम्पनी सञ्चालनका लागि आसय पत्र लिएको कम्पनीमा १५० जना संस्थापक सेयरधनी हुने विवरण पेश गरिएको छ । जसमा प्रथम सञ्चालकमा रुपमा पुर्व बैंकर बोहराको नाम रहेको छ । कम्पनीमा बोहरासहित प्रेमनीधी ज्ञवाली, उपेन्द्र पौडेल, राजेन्द्रलाल बज्राचार्य, देवेन्द्र बहादुर शाह, डम्बर सिंह ऐर, सिनर्जी फाइनान्स, जनता बैंक र मेगा बैंक लगायत संस्थापक लगानी कर्ताका रुपमा रहने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.