‘सबैभन्दा द्रुतगतिको इन्टरनेट सेवा दिएका छौं’-सजीन राजभण्डारी, स्मार्ट टेलिकम

  २०७४ मंसिर ११ गते १६:३०     विकासन्युज

काठमाडौं । फोन, इन्टरनेट लगायत सबै प्रकारको दुरसञ्चार सेवा प्रदान गर्न एकिकृत लाईसेन्स पाएको स्मार्ट टेलिकमले पछिल्लो समय सशक्त रुपमा सेवा विस्तार गर्दैछ । कम्पनीले हालै चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालन गर्ने स्मार्ट टेलिकम तेस्रो दुरसञ्चार कम्पनी हो ।

‘स्मार्टको फोरजीको स्पीड फास्ट छ, उपभोक्ताले मन पराएका छन्, नेटवर्क बढाउने चुनौति छ’ स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीन राजभण्डारीले भने । स्मार्टसेलले आफ्ना ग्राहकका लागि प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निःशुल्क कल गर्न सक्ने योजना ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् ।

‘१० मेगाहर्ज व्याण्डविद क्यापासिटीको फोरजी सेवा भएकोले इन्टरनेट धेरै फाष्ट छ । अरु कुनै पनि कम्पनीको इन्टरनेट सेवा यति फाष्ट छैन’ राजभण्डारीले भने–‘अब टेलिकमको विजनेश भनेको डाटा नै हो । भ्वाइस कल भन्दा डाटाको प्रयोग नै हुने गरेको छ । युवा पुस्ताहरु अनलाईन च्याटमा रमाउँछन् । कुरा गर्न पर्दा पनि म्यासेन्जर, भाईवर, ह्वाट्एपको प्रयोग बढी गर्छन ।’

हाल काठमाडौं र पोखराबाट फोरजी सेवा शुरु गरेको यस कम्पनीले निकट भविष्यमा चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, बीरगञ्ज, विराटनगरमा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।

‘हाल कम्पनीले राजधानीमा टावर थप्ने कार्यलाई उच्च प्राथमिकता छ । कम्पनीले काठमाडौं, पोखरा र चितवनमा कभरेट विस्तार गर्न थप २७० वटा टावर राख्ने तयारीमा छ’ प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले भने–‘त्यसपछि कम्पनीले विरगञ्ज, बुटवल–भैरहवा, नेपालगञ्जमा सेवा विस्तार गर्दैछ ।’ सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।
नयाँ टावर विस्तारको लागि आवश्यक सामाग्री खरिद प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । नयाँ टावरका सामान खरिददेखि निर्माणसम्ममा प्रति टावर २५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको राजभण्डारीले जनाकारी दिए ।

३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । हाल स्मार्टसेलको वार्षिक कारोबार करिब ६० करोड रुपैयाँ रहेको छ । ‘बजार प्रशस्त छ र हामी आक्रामक रुपमा सेवा विस्तार गर्दैछौं’ राजभण्डारीले भने ।

कम्पनी आगामी २ वर्षभित्र नाफामा लैजाने लक्ष्यका साथ काम गरिरहेको छ । सेवा विस्तार गर्न करिव ८० जना कर्मचारी खटिरहेका छन् । अहिलेको स्पीडमा कम्पनी निरन्तर अगाडि बढेको अवस्थामा आगामी ३ वर्षमा स्माट टेलिकम दोस्रो ठूलो कम्पनी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.