ब्याजदर करिडोर लागु, राष्ट्र बैंकले बुधबार १५ अर्ब बजारबाट उठाउदै

  २०७४ कार्तिक २९ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर करिडोर लागु गरेको दिन बुधबार बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो ।

३ प्रतिशत भन्दा फरक ब्याज दर प्रस्ताव नगर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २ साताका लागि उठाइएको रकम आगामी मंसिर १३ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले बजारमा बढी भएको तरलता प्रशोचन गर्न लागेको हो ।हाल बैकिङ प्रणालीमा २० अर्ब बढी तरलता रहेपछि बुधबार ठुलो रकम बैंकिङ प्रणालीबाट प्रशोचन गर्न लागेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति लागु भएको ४ महिनापछि केन्द्रीय बैंकले ब्याज दर करिडोर लागु गरेको हो । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको थियो ।
ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.