ट्रेडमार्क नपाएपछि हिमालयन डिष्टिलरीका रोयल स्ट्याग र बेलेन्डर्स प्राइड मदिराको उत्पादन बन्द

  २०७४ कार्तिक २९ गते १२:५१     विकासन्युज

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले रोयल स्ट्याग र बेलेन्डर्स प्राइड ब्राण्ड मदिराको ट्रेडमार्क अधिकार नपाएपछि नेपालमा उत्पादन बन्द भएको छ ।

भारतको प्रेन रिकार्ड कम्पनीले हिमालयनसंग गरेको सम्झौता नवीकरण नगरेपछि रोयल स्ट्याग र बेलन्डर्स प्राइडको उत्पादन बन्द भएको हो । ट्रेडमार्क नदिएपछि भारतीय कम्पनीसंग विवाद भइरहेको हिमालयनले जनाएको छ । अहिले ट्रेडमार्क अधिकारका लागि अदालतमा मुद्धा चलेको हिमालयनले जनाएको छ ।

उत्पादन बन्द भएपछि आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । यस्तै बजारमा ल्याइएको रोयल ट्रेजर ब्राण्डको बिक्री पनि लक्ष्य अनुसार नहुदा आगामी दिनमा कारोबारमा असर गर्ने कम्पनीले जानकारी दिएको छ ।

सन् १९९५ देखि रोयल स्ट्याग र पछिल्लो समयमा ब्लेन्डर्स प्राइड ब्राण्डको ह्विस्की नेपालमा उत्पादन तथा बिक्री वितरण हुदै आएको थियो । दुबै ब्राण्डका ह्विस्की नेपाली बजारमा निकै रुचाईएको थियो ।

ब्राण्ड अधिकार नपाएपछि हिमालयनले अहिले रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक र आइला ब्राण्डको ह्विस्की मात्र उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । विदेशी कम्पनीले ट्रेडमार्क अधिकार नदिएपछि कम्पनीका लगानीकर्ता र उपभोत्ताको हितका लागि भनेर कानुनी उपचारमा गएको हिमालयनले जनाएको छ ।

रोयल ट्रेजरको र गोल्डेन ओकको बिक्री सोचेअनुसार नभएको कम्पनीले जनाएको छ । यस्तै नयाँ ब्राण्ड गोल्डेन ओकको पनि अन्य कम्पनीले नक्कल गरी न्युन गुणस्तरको मदिरा उत्पादन गरी बिक्रीमा आएपछि यसको असर बजारमा परेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयनले २ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४३ लाख ८० हजार रुपैयाँ नोक्सान ब्योहरेको हिमालयनले पहिलो त्रैमाशमा भने नाफा गरेको छ । गत वर्ष कम्पनील ३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

गत असारको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएर ६ रुपैयाँ ३८ पैसा पुगेको छ । गत असारमा प्रतिसेयर आम्दानी १० रुपैयाँ थियो ।

३ महिनामा हिमालयनले ३४ करोड ७३ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ मदिरा बेचेर आम्दानी गरेको थियो ।

हिमालयनमा ६२ प्रतिशत संस्थापक र ३८ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीको वार्षिक मदिरा उत्पादन क्षमता १ करोड १७ लाख ६० हजार लिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.