के तपाईँ इलेक्ट्रिक भेइकल चलाउनु हुन्छ ? विद्युत प्राधिकरणले बनाउँदै छ ‘हाइ भोल्टेज चार्जिङ स्टेशन’

  २०७४ कार्तिक ७ गते १०:१४     विकासन्युज

काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर आएको छ । आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य हुँदैछ, किन की नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउने भएको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको हो । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा धमाधम लेखिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयार गरेको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । यसका लागि प्रारम्भिक गृहकार्य सुरु भइसकेको उनले जानकारी दिए ।

केही वर्षपछि पर्याप्त ऊर्जा उत्पादन हुने भएकाले त्यसको सदुपयोग विद्युतीय परिवहनमा गर्न लागेको उनको भनाई छ । प्राधिकरणले पहिलो चरणमा आफनो कार्यलयमा चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ । प्राधिकरणले आफना कर्मचारीलाई विद्युतीय सवारीसाधन खरिद गर्ने सिल्वालले जानकारी दिए ।

विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । “भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ” उनले भने “नेपालले पनि यसमा ढिलाइ गर्नु हुन्न भन्ने हो ।” विद्युत प्राधिकरणले मात्र यो काम गर्न नसक्ने भन्दै उनले यसका लागि राज्यले पनि लगानी गर्नुपर्ने बताए । सिल्वालले काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो । हाइभोल्टेज चार्जरले बढीमा आधा घण्टामा चार्ज गर्न सकिने छ ।

वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.