बैकिङ प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आइतबार ५ अर्ब उठाउदै

  २०७४ असोज २० गते १४:४१     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो ।

ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक २१ गते हुने छ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । उनकाअनुसार बजारमा झण्डै १ खर्ब रुपैयाँ हारहारीमा तरलता छ । पछिल्लो समयमा तरलता बढ्दै गएको छ ।

केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।
तरलता अभाव भएपछि गत वर्ष बैंकले १३ प्रतिशत ब्याजमा निक्षेप उठाएका थिए । गत वर्षको दोस्रौ त्रैमाशदेखि बजारमा ऋण लगानी गर्न पुँजी नभएपछि राष्ट्र बैंकले पटकपटक गरी ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.