हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन

  २०७४ असोज १७ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ ।

सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् ।

विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो ।

१५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ ।

भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने ।

कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ ।

यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ ।

यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए ।

यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ ।

यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।

क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.