आर्थिक वृद्धि खुम्चिएर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण, बाढी र डुवान मुल कारण

  २०७४ असोज १० गते १५:२२     विकासन्युज

काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार नेपालको आर्थिक परिदृष्य अधावधिक सार्वजनिक गर्दे आर्थिक वृद्धि खुम्चिएर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

 

तराईमा आएको बाढी र डुवानले ठुलो धनजनको क्षति भएको निष्कर्ष निकाल्दै एडीबीले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भनेको हो । गत वर्ष आर्थिक वृद्धि दर बढेर ६.९ प्रतिशत भएको थियो । सरकारले चालु आवमा ७.२ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ ।

बाढीले ठुलो क्षति गरेको भन्दै एडीबीले यो वर्ष कृषि क्षेत्रको वृद्धि ५.३ बाट खुम्चिएर २.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यस्तै बाढी र डुवानले धानलगायत अन्य बालीमा क्षति पुगेको एडीबीले उल्लेख गरेको छ ।

यस्तै औद्योगिक क्षेत्र ६.६ प्रतिशतले विस्तार हुने एडीबीको अनुमान छ । ऊर्जाको नियमित आपूर्ति र निर्माण सामाग्रीको सहज उपलब्धताले आर्थिक औद्योगिक क्षेत्र विस्तार हुने अनुमान एडीबीको छ । यस्तै सेवा क्षेत्र पनि साढे ५ प्रतिशतले विस्तार हुने देखिएको छ । वित्तीय क्षेत्र विस्तार, पर्यटनमा सुधार र खुद्रा तथा थोक व्यवसायमा भएको सुधारका कारण सेवा क्षेत्रको अवस्था राम्रो हुने देखिएको हो ।

यस्तै यो वर्ष उपभोक्ता मूल्यवृद्धि दर बढेर साढे ६ प्रतिशत पुग्ने एडीबीको अनुमान छ । हाल मुल्यवृद्धि ३ प्रतिशत भन्दा कम छ । निर्वाचन र वित्तीय हस्तान्तरणले मूल्यवृद्धिमा केही चाप बढने अनुमान एडीबीको छ ।

स्थानिय तहमा भएको वित्तीय हस्तान्तरणले यो वर्ष पुँजीगत खर्च बढ्ने एडीबीले जानकारी दिएको छ । राजश्व संकलन कुल ग्राहस्र्थ उत्पादनको २३.४ प्रतिशत पुगे पनि वित्तीय घाटा बढेर ५.२ प्रतिशत पुगेको छ ।

निकासीको तुलनामा आयात चुलिएपछि व्यापार घाटा बढ्दै गएको एडीबीले जानकारी दिएको छ । विदेश जाने कामदारको संख्यामा आएको कमीले रेमिट्यान्स आप्रवाहमा कमी आउने अनुमान एडीबीको छ । रेमिट्यान्स आप्रवाहमा कमी र व्यापार घाटाले नेपालको वाह्य क्षेत्र अस्थिर र सुस्त हुने देखिएको छ ।

सेवा क्षेत्रको निकासी राम्रो रहेको एडीबीको ठहर छ । कुल सेवा क्षेत्रको ६६ प्रतिशत निकासी र १४ प्रतिशत आयात हुने गरेको छ । नेपालको सेवा क्षेत्रको पुर्वाधार, संस्थागत, कानूनी र प्रक्रियागत अवरोध भएपनि नेपालले सेवा क्षेत्रको संभावना पुरै लक्ष्य हासिल गर्ने एडीबीले बताएको छ ।

यस्तै अर्को विकास साझेदार विश्व बैंकले पनि यो वर्ष आर्थिक वृद्धि दर खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकले पनि आर्थिक वृद्धि खुम्चिनुमा तराईमा भएको बाढी र डुवानलाई मुख्य कारण मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.