दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो

  २०७४ असोज ९ गते १८:४१     विकासन्युज

काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् ।
दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए ।

बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।

दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’

फस्टायो भाटभटेनी
उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ ।

भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’

भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए ।

भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.