१० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो, यो वर्ष २५० मेगावाट थपिदै

  २०७४ असोज ९ गते १२:५८     विकासन्युज

काठमाडौं । विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ ।

२०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । तर सरकारले चालु आवको बजेटमा ८ सय मेगावाट बिजुली थप भई जडित क्षमता १ हजार ७ सय मेगावाट पुर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ ।

गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ ।

प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।

लोडसेडिङ हटाउन गत वर्ष ३८५ मेगावाट बिजुली आयात भएको थियो । यो वर्ष कुसाह–कटैया १३२ केभी दोस्रोबाट ५० र परवानीपुर–रक्सौल १३२ केभीबाट ५० मेगावाट बिजुली थप आपूर्ति गर्ने योजना प्राधिकरणको छ ।

गत वर्ष बिजुलीको माग औसत १ हजार ३ सय मेगावाट पुगेको थियो । यो वर्ष भारतबाट समेत गरी बिजुली आपूर्ति १ हजार ८० देखि १ हजार १ सय मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । ३२० मेगावाट अपुग हुने प्राधिकरणको प्रक्षेपण छ ।

गत वर्ष ४ सय मेगावाट अपुग हुदा पनि उद्योग बाहेक ग्राहस्थ लोडसेडिङमुक्त थियो । हाल औसत ३ सय मेगावाट बिजुली अपुग हुदा पनि औद्योगिक क्षेत्रमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहको छ ।

१०९ मेगावाट पीपीए सम्पन्न

विद्युत प्राधिकरणले चालु आव सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ६ वर्ष अझै ०७८ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.