‘नेपाली ग्याँस बुलेटको समाधान कुटनीतिक तवरबाटै सम्भव छ’- आपूर्ति मन्त्री मण्डल

  २०७४ असोज १ गते १३:०७     विकासन्युज

काठमाडाैं । आपूर्ति मन्त्रालयले नेपाली ग्यास बुलेट सञ्चालनका लागि पहल गर्न भारतसँग कुटनीतिक पहल गर्ने भएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले यो विषयमाथी छलफल गर्न भारतीय राजदुतसँग छलफल गर्ने तयारी गरेको बताएका छन् ।


आइतबार आयोजित व्यवस्थापिका सांसद – उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री शिव कुमार मण्डलले भारतीय दुतावासमार्फत नेपाली ग्यास बुलेटका लागि पहल गरिने जानकारी दिए । उनले भने, ‘हिजो हामीले ग्यास उद्योगीसँगको बैठकमा भारतीय राजदूतसँग छलफल गर्ने कुरा गर्‍या थियौं ।’
मन्त्री मण्डलले ग्याँस बुलेटको विषयलाई बारम्बार क्याबिनेटमा लैजानु उपयुक्त नभएको बताए । उनले भने, ‘एउटै कुरा कति उठाउनु ? यो कसैले नबुझेका विषय होइन । सैद्धान्तिक कुरा बुझिसक्यो अब प्राविधिक विषय हेर्नु पर्छ ।’
मन्त्री मण्डलले ग्यास उद्योगीलाई मन्त्रालयले उठाउनु पर्ने मुद्दालाई सुची सहित पेश गर्न आग्रह गरेका छन् ।  ‘हामीले आफ्नो ठाउँबाट गर्नुपर्ने पहल गरेकै हौं,’ उनले भने, ‘यो विषय हाम्रो मात्र नभई परराष्ट्र मन्त्रालयको पनि कार्यक्षेत्रमा पर्ने भएकाले सुची सहित प्रस्ताव आए सजिलो हुने थियो।’
मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले भारतको दिल्ली स्थित दूतावासले दुई देशको व्यवसायिक समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने’ यस्तै किसिमको समस्या समाधानका लागी हाम्रो प्रतिनिधि त्यहाँ हुनुहुन्छ। त्यसैले यसको समाधान त्यहाँ पहलकदमी अघि बढाउनु उपयुक्त हुन्छ ।’ संसद सुभाष चन्द्र ठकुरीले सरकारलाई सार्थक प्रयास नगरेको आरोप लगाए। समाधान गर्न नसके अर्बौंको लगानी गरिसकेका उद्योगीलाई क्षतिपूर्ति दिन तयार हुनुपर्ने बताए ।

उद्योगी सशंकित
नेपाल एलपी उद्योगी संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणमा विषयको उठान गरेको वा नगरेको विषयमाथी आशङ्का व्यक्त गरेका छन् । उनले भने, ‘उहाँहरुले हामीलाई प्रोटोकलका नाममा बैठकमा सहभागी गराउनु भएन । अब बैठक बस्यो कि बसेन उहाँहरुलाई थाहा छ ।’ यसको समाधान तत्काल ननिकाले अप्रीय निर्णय लिने उनले चेतावनी दिएका छन् ।

घिमिरेको प्रति जवाफमा बोल्दै परराष्ट्र सचिव शंकरदास बैरागीले कुटनीतिक तहको बैठकमा सबैलाई सहभागी गराउनु आवश्यक नभएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री भ्रमण बुलेटको विषयमा मात्रै केन्द्रित थिएन । हरेक विषयको आफ्नो मर्यादा हुन्छ। बैठकमा सबैजना बस्नुपर्छ भन्ने जरुरी छैन।’  बुलेटसम्बन्धी एजेण्डामा छलफल भएन भन्ने उद्योगीको आशंका निराधार भएको उनले बताए ।  कुटनीतिक पहल जारी रहेको र त्यसको परिणाम आउन बाकी रहेको उनले जानकारी दिए ।

व्यवसायीको आफ्नै ‘इन्ट्रेष्ट’ :मण्डल

नेपाली ग्यास बुलेट सञ्चालनको विषयमा व्यवसायीको आ-आफ्नै ‘इन्ट्रेष्ट’ देखिएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताएका छन् ।मण्डलले भारत र नेपालका व्यवसायीका बीचको समस्या देखिएको बताए।

बुलेट ल्याउने बेलामा कसरी सहमती हेर्नु जरुरी रहेको उनले बताए । उनले भने, ‘व्यवसायीले मौखिक सहमति गरेका थिए कि लिखित । केहि निश्चित कुरा छैन । सोलोडोलो कुराले हुँदैन ‘ उनले भने, ‘अब फेरी छलफल गरेर काम हुँदैन ।पहिलेका नेतृत्वले केकस्तो सहमती गरेको त्यो हेर्नुपर्छ र समितिले ठोस निर्देशन दिओस्। आजकै मितिमा त्यो निर्देशन पालना गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.