कसरी टिकाउन सकिन्छ गाडी ? यस्ता छन् अटोमोबार्इल व्यवसायीका सात टिप्स

  २०७४ भदौ १४ गते १३:०५     विकासन्युज

काठमाडौं । राजधानीका खाल्डा खुल्डी सडक र धुँवाधुलो आम मानिसका लागि समस्या बनिसकेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सँगसँगै गाडीको पनि हेरचाह गर्नुपर्ने हुन्छ ।

गाडीलाई सुरक्षित तरिकाले चलाउन र लामो समयसम्म टिकाउन गाडीको ख्याल राख्नु आवश्यक हुन्छ । गाडीमा आउने सानोतिनो समस्यालाई पनि बेमतलब गर्नु हुँदैन । यसलाई हेरचाह गर्न सके आफु पनि सुरक्षित ढंगले यात्रा गर्न सकिन्छ र गाडीको आयु पनि लम्ब्याउन सकिने विज्ञहरु बताउछन् ।

१. सावधानी अपनाउने

नेपालमा हुने दुर्घटना मध्ये अधिकांश घटना खराब सडक, ट्राफिक नियम उल्लंघन जस्ता गतिविधिका कारण हुन्छन् । सावधानी अपनाउन सके गाडी सुरक्षित र आयु लम्ब्याउन सकिने पूर्वाञ्चल ल्युब आयलका सञ्चालक कृष्ण दुलाल बताउछन् । उनी भन्छन्, ‘धेरै पैसा खर्चिएर गाडी किन्नु ठुलो कुरा होइन । यसलाई दुर्घटनाबाट जोगाएर लामोसम्म टिकाउनु महत्वपूर्ण छ ।’

दुलालका अनुसार गाडी बिग्रनुको ८० प्रतिशत कारण चालकको लापरबाही हो । गाडी चलाउँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । गाडीको स्पिडमा धेरै ध्यान दिदाँ गाडीलाई दुर्घटनाबाट जोगाउन सकिन्छ । ट्राफिक नियमको पालना गरेर नै गाडीलाई सुरक्षित राख्न सकिने उनले बताए ।

२. लूब्रिकेन्ट चेक गर्ने

गाडीको समय समयमा आवश्यकता अनुसार लूब्रिकेन्ट फेरि रहनु आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तपाईंले कति किलोमिटर गाडी कुदाउनु भयो, त्यसै अनुसार लूब्रिकेन्ट फेरबदल गरिरहनुपर्छ ।’

सफा आयल र सफा एयर फिल्टरले माइलेज बढाउछ । एयर फिल्टरमा धुलो बढी भयो भनेपनि हावाको फ्लोमा बाधा पुग्ने भएकाले इञ्जिनमा पनि प्रभाव पार्ने दुलालले बताए । कार कम्पनीको निर्देशन अनुसार बेला बेलामा सर्भिसिङ गर्‍यो भनेपनि गाडीलाई लामो समयसम्म टिकाउन सकिने उनले बताए ।

३. गति सिमित गर्ने

धेरैजसो गाडी बिग्रनुको प्रमुख कारण खराब सडक रहेको विजय मोटर्स प्रालीका जेनेरल म्यानेजर रबिन्द्र राउतले बताए । उनले भने, ‘हिजोआज बजारमा सकप्रुफ गाडी आएका छन् । तर समतल सडकमा भन्दा खराब बाटोमा गाडी बिग्रने सम्भावना बढी नै हुन्छ ।’

सामान्यतया अधिकांस युवापूस्तामा उच्च गतिमा बाइक चलाउने प्रवृत्ति बढी पाइन्छ । उनी भन्छन्, ‘ गाडी अरु सम्पती जस्तो बढ्दै जाने हुँदैन । यसको आयु समय अनुसार घट्दै जान्छ । हामीले अरुलाई ईज्जत दियो भने अरुले पनि हामीलाई ईज्जत दिन्छन् भने जस्तै गाडीलाई हामीले सुरक्षित राखे गाडीले पनि हामीलाई सुरक्षित राख्छ ।’

४. बिजी प्रोटेक्सन प्रयोग गर्ने

राउतका अनुसार गाडीमा इन्धन पूर्णरुपमा बर्न गर्न नपाउँदा कार्बन थुप्रिएर इञ्जिन बिग्रनसक्छ । त्यसैले बजारमा इन्धनलाई पूर्णरुपमा बर्न गर्न बिजी प्रोटेक्सनको प्रयोग गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘ बिजी प्रोटेक्सन नामको रसायनले डिजेल पेट्रोल लाई बर्न गर्छ । र इञ्जिनलाई लामो समयसम्म टिकाउछ ।’

५. एयर फिल्टर बदल्ने

काठमाडौंको धुवाधुलोले वायु प्रदुषण गरिरहेको हुन्छ । कारमा भएको एयर फिल्टरले मानव छातीको जस्तै हावालाई फिल्टर गरिरहेको हुन्छ । एयर फिल्टरलाई बेलाबेलामा चेन्ज गरिरहनुपर्ने राउत बताउछन् ।

६. टायरमा सहि मात्रामा हावा भर्ने

गाडीलाई सुरक्षित राख्न टायरको भूमिका महत्वपूर्ण हुन्छ । कारलाई घरबाट निकाल्नुभन्दा अगाडी यसको पाङ्ग्रामा हावा चेक गर्नुपर्छ ।

सामान्यतया टायरमा हावा सकिएपछि जति पायो त्यति हावा भरिन्छ । टायरमा हावा भर्दा सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको राउतले बताए। उनले भने, ‘टायरमा हावा कम छ की छैन मात्र होइन । टायरमा कति मात्रामा हावा भर्ने जाँच गर्नुपर्छ ।’  हावा भर्दा हावाको प्रेसर पनि जाँच गर्नुपर्छ।

टायरमा एक्युरेट मात्रामा मात्र हावा भर्नुपर्छ । हावा भर्दा डिजिटल एनलाइजरले टायरको प्रेसर प्वाइन्ट नाप्नुपर्छ । उनी भन्छन्, ‘कारको ड्राइभर सीटको गेटमा कम्पनीले नै स्‍टीकर टालेको हुन्छ । त्यसमा प्रेसर प्वाइन्ट पनि उल्लेख हुन्छ । त्यसैको आधारमा हावा भर्नुपर्छ ।’ टायरमा अत्याधिक मात्रामा हावा भरियो भने तेल पनि धेरै खर्च हुने उनले बताए ।

७. खाल्डाखुल्डीबाट जोगाउने

गाडीलाई खाल्डाखुल्डीबाट जोगाएर चलाउनुपर्ने हुन्छ । आजभोली गाडीमा सस्पेन्सनको राम्रो सुविधा हुने भएकाले खाल्डा खुल्डीमा त्यती समस्या त आउदैन ।

गाडीमा धेरै ब्रेकको प्रयोग गर्दा पनि गाडी बिग्रने सम्भावना हुने राउतले बताए । उनका अनुसार गाडीको गतिलाई गीयरले नै ब्यालेन्स गराएर चलाउनुपर्छ । कुन गतिमा कति गीयर राखेर चलाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.