२०७४ साउन २१ गते १०:०४ रोहन शर्मा
‘सेयर बजारमा एनआरएल भित्राउन स्पष्ट नीति नियम बन्नु पर्ने, सेयर बजारलाई देशभर रहेका सर्वसाधारणको पहुँचमा र्पुयाउनु पर्ने, अनलाईन ट्रेडिङलाई जतिसक्दो चाँडो लागु गर्नुपर्ने, यसो भएमा सेयर बजारले चाँडैनै नयाँ रेकर्ड राख्नेछ’ भन्ने मैले मेरो ‘सेयर बजार’ ग्रुपमा गरिएको पोष्टमा एक मित्रले कमेण्ट गर्दै लेख्नु भयो,“यि सबै कुराहरु एकादेशको कथा जस्तै भैसके !’’
मेरो उत्तर ठिक बिपरित छ, “भैसकेको छैन, तर भविश्यमा निश्चयनै यी कुराहरु एकादेशको कथा जस्तै हुनेछ!“
एक दशक अगाडी दैनिक औसत ५ करोडको कारोबार हुने, बजारमा बुलिस प्रबृति आउँदा १८÷२० करोडको कारोबार हुँदा अचम्म मान्ने हामी अहिले दैनिक १ अर्बको कारोबारलाई सामान्य रुपमा लिन्छौं । ५ करोडको कारोबार अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।
सिंहदरवार स्थित स्टक एक्स्चेन्ज परिसर बाहिर भेला भएर भिडमा तछाँड मछाड गर्दै ओपन क्राई सिस्टमबाट कारोबार गर्ने हामी अहिले पल पलको कारोबार मोबाईलबाट अवलोकन गर्दै फोनबाटै कारोबार गर्ने अवस्थामा पुगेका छौं।
त्यतिबेला स्टक एक्स्चेन्जको सानो झ्यालनै लगानिकर्ताको लागी बजारको गहिराई (मार्केट डेप्थ) को रुपमा रहेको थियो, जहाँबाट मार्केट डेप्थ हेर्न ताना ताननै हुन्थ्यो। ओपनक्राई अहिले एकादेशको कथा जस्तै भैसकेको छ।
अहिले राष्ट्रिय दैनिकहरुमा कारोबार भएका कम्पनीहरुको सूची पानानै भरिभराउ देखिने गरेकोमा त्यतिबेला पत्रिकाको कुनै कुनामा देखिने १०/१५ कम्पनीको सुचि अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।
ब्रोकरले मात्र हेर्न पाउने अझै भन्नै पर्दा ब्रोकरले आफुसँगै ठूला लगानीकर्ता र आफन्तलाई मात्र कारोबार कक्षमा राखेर देखाउने बजारको गहिराई ( मार्केट डेप्थ) मा अहिले आम सर्वसाधारणको पहुँच पुगिसकेको छ। ब्रोकरको पेवाको रुपमा रहेको मार्केट डेप्थ अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।
अधिकतम १.५ प्रतिशत र न्युनतम १ प्रतिशत महँगो ब्रोकर कमिसन कमिसनमा कारोबार थालेका हामी अहिले अधिकतम ०.६ प्रतिशत र न्युनतम ०.४ प्रतिशतमा काम गर्दै रमाउँदा पुरानो ब्रोकर कमिसन एकादेशको कथा जस्तै भैसकेको छ ।
अहिले बजारबाट भैतिक रुपमा रहेका सेयर प्रमाणपत्रको अन्त्य हुने क्रममा छ । बजारमा पूर्णरुपमा अभैतिक कारोबार हुने गरेको छ । यतिबेला कुनै जमानामा लेमिनेसन गरेर फ्रेमिङ गरी भित्तामा टाँगिएका सेयर प्रमाणपत्र एकादेशको कथा जस्तै भैसकेको छ ।
आफूले किनेको सेयर अहिले चार दिनमै आफ्नो खातामा स्वामित्व परिवर्तन भएर आईसक्दा पहिले खरिद गरेको सेयर ६ महिनासम्म पनि प्रमाणपत्र हातमा नपर्ने हुँदा बुक क्लोज अगाडीसम्म लामो समय ब्रोकरको बाक्सामै बीटी अर्थात बल्यङ्क ट्रान्सफर (आफुले सेयर खरिद गरिसकेता पनि सेयरको स्वामित्व नामसारी नभएसम्म बिक्रेताकै नाममा हुने अवस्था) मा राख्नु पर्ने बाध्यता अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।
प्राथमिक निश्काशनका सम्बन्धमा कुरा गर्ने हो भने कुनै समय म स्वयं बिहान ९ बजेदेखि बेलुकी ६ बजे सम्म लाईन बसेर आईपीओ भरेको घटना अहिलेसम्म ताजै छ । पर्ने नपर्ने सुनिश्चितता थिएन । बाँडफाँडको लागि ३ महिना बढी समय लाग्ने गर्दथ्यो । कुनै पनि कम्पनीको हकप्रद भर्न, बोनस लिन राजधानीनै आउनुपर्ने थियो । उपत्यका बाहिरका लगानिकर्ता हकप्रद भर्न र बोनस सेयर लिन राजधानी आउँदा आफूले पाएको प्रतिफल भन्दा बढी खर्च गरेर घाटाको ब्यापार गरी फर्कन्थे । आफूले प्राप्त गर्ने हकप्रद र बोनसको लागि घण्टौ लाईन बस्नु पर्ने थियो । यी सब अब एकादेशको कथा भएका छन् ।
सेयर बजारको जानकारी आम लगानिकर्ताको पहुँचमा र्पुयाउनको लागि अहिले जस्तो मिडियाहरु थिएनन् । भएकाले पनि सेयर बुझ्ने थिएनन्, अलि अलि बुझेकाले पनि महत्व दिने थिएनन् । अहिले कुनै फरक उदेश्यबाट सँचालित मिडिया पनि सेयर बजारको बारेमा लेखेनन् भने मिडियानै अधुरोर अपुरो हुन्छ । अहिले यी सबै कुराहरु एकादेशको कथा जस्तै भैसकेको छ ।
धान रोपेपछी बाली भित्राउन ६ महिना लाग्छ । पैसा खर्च गरेर पनि चाहे जस्तो सामान पाउन निकै गाह्रो हुन्छ । किनेर घर ल्याएको खाद्यन्न पनि खानको लागि तयार पार्न समय लाग्छ। सेयर बजारमा चाहिं हामीलाई सबै कुरा छु मन्तर हुनु पर्ने ?
विगत देखि अहिलेसम्मको अवस्थालाई मध्यानजर गर्दै धैर्य गरौं, क्रमिक रुपमा सेयर बजारमा हामीले सोच्दै नसोचेका कुराहरु एकदिन “एकादेशको कथा“ जस्तै हुँदै जानेछन्।
फेसबुकबाट
Copyright © 2024 Bikash Media Pvt. Ltd.