तीन बर्षपछि धरानबाट सिधैं हेटौँडा, धमाधम बन्दैछ डबल लेनको कालोपत्रे सडक

  २०७४ जेठ २२ गते ११:१८     नारायण पौडेल

काठमाडौं । आगामी तीन बर्षपछि धरान र हेटौँडालाई डबल लेनको कालोपत्रे सडकले जोड्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा तीन बर्षभित्रै धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौँडा सडकको निर्माण सम्पन्न गर्न ३ अर्ब १५ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक बर्षमा यो सडकले ३ अर्ब बजेट पाएको थियो । सोही बजेटले यतिबेला ६ वटा निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् ।
सडक विभागका उप महानिर्देशक गोपाल सिग्देलका अनुसार ३१८ किलोमिटर लामो धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौँडा सडकमा ७५ वटा पुल निर्माण गर्नुपर्छ ।

सडक र पुलसहित यो सडकको कुल लागत १८ अर्ब पुग्ने उप महानिर्देशक सिग्देलले विकासन्युजलाई जानकारी दिए । यो सडकमा औषत ५० किलोमिटरको स्पीडमा सवारी साधन चलाउन सकिनेछ । २०० किलोमिटरको पुर्वी खण्डका लागि गाइघाटमा कार्यालय स्थापना गरिएको छ भने ११८ किलोमिटरका लागि मकवानपुरको हेटौँडामा कार्यालय स्थापना गरिएको छ ।

चालु आर्थिक बर्षको बजेटबाट ७५ वटा पुल निर्माणका लागि २ वटा कम्पनीले काम गरिरहेका छन भने सडकका लागि ४ वटा कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन् । चालु आवका लागि प्राप्त बजेटको ६० प्रतिशत खर्च भैसकेको पनि सिग्देलले बताए ।

मध्य पहाडी लोकमार्ग र पुर्व पश्चिम राजमार्गको बिचमा रहेको यो सडकले भित्रि मधेश तथा चुरेको तल्लो फाँटको उर्बर भूमिलाई समेटेको छ ।
यो सडक निर्माण भएसँगै पुर्वी नेपालको राजधानीसँगको सम्पर्क दुरी छोटिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.