नयाँ स्टक एक्सचेञ्ज रोक्न अर्थमन्त्रीलाई नेप्सेको स्मृति पत्र, यस्ता छन् नेप्सेका १५ तर्क

  २०७४ जेठ १७ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने नेपाल धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थमन्त्रीलाई स्मृति पत्र बुझाएको छ । नेप्सेले आफ्नो वर्तमान अवस्था, नेपालको पुँजी बजार र अन्तराष्ट्रिय मान्यताहरुलाई समेत अघि सार्दै नयाँ स्टक एक्सचेञ्ज कम्पनी आवश्यक नरहेको दावी गरेको छ । नेप्सेले आफ्ना २७ जना कर्मचारीलाई अघि सारेर अर्थमन्त्री समक्ष स्मृति पत्र बुझाउन लगाएको हो ।

भारत, चीन लगायतका ठुला पुँजी बजार भएका मुलुकमा २ वटा मात्रै स्टक कम्पनी रहेको तथा पाकिस्तान, बंगलादेशमा पनि एउटा मात्रै स्टक कम्पनी रहेकाले नेपालमा अर्काे स्टक कम्पनी आवश्यक नरहेको बताएको छ । त्यस्तै, नेप्सेको आधुनिकीकरणको प्रक्रिया समेत द्रुतगतिमा अघि बढिरहेको बताउँदै नयाँ स्टक कम्पनीले नेपालको पुँजी बजारलाई थप समस्यामा पार्ने दावी पनि नेप्सेल गरेको छ ।

यस्ता छन नयाँ स्टक कम्पनी रोक्ने नेप्सेका तर्क

१) दुई वटा स्टक एक्सचेन्ज
एउटा बाट दुइटा बनाउने प्रक्रियामा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी सम्पत्ति (नेप्से) जोखिममा पर्ने निश्चित छ ।
२) नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन ?
नेप्से अन्तर्रािष्ट्रिय स्तरको भएन भन्ने आरोप निराधार हो ।
३) सेयर कारोबार र भिडियो गेम
सेयर कारोबारलाई भिडियो गेम खेलेजत्तिकै सजिलो बनाउन खोजिएको हो वा नेप्सेले त्यत्तिकै सहजता उपलब्ध गराउनुपर्छ भन्न खोजिएको हो भने त्यो असम्भव कुरा हो ।
४) नेप्सेको निजीकरण
हालसालै सार्वजनिक भएको वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल स्टक एक्सचेन्जको निजीकरण गर्ने विषय उल्लेख छ । नेप्सेको निजीकरण गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समयसीमा सहित तोकिएको छ । उक्त रणनीति अनुरुप नेप्सेको निजीकरण प्रक्रिया कहाँ पुग्यो भन्ने सार्वजनिक जानकारीमा आएको छैन ।
५) छिमेकीको उदाहरण
भारतमा दुई वटा र चीनमा चार वटा स्टक एक्सचेन्जहरु छन् नेपालमा किन एउटा मात्रै भन्ने प्रश्न गर्ने गरिन्छ । हाम्रो सन्दर्भमा यो प्रश्न कत्ति पनि मेल खादैन ।
६) अर्थतन्त्रको आवश्यकता
अर्को स्टक एक्सचेन्ज चाहियो भन्नेहरुले यसलाई अर्थतन्त्रको आवश्यकताको रुपमा प्रस्तुत गर्न खोजेका छन् । यो तथ्यलाई मोड्न खोजिएको दुष्प्रयास मात्र हो ।
७) स्टक एक्सचेन्जहरुको एकीकरण लहर
स्टक एक्सचेन्जहरुको एकीकरण विश्वव्यापी लहर हो । हामीकहाँ भने उल्टो गंगा बगाउन खोजिएको छ ।
८) नेप्से र सेबोनको सम्बन्ध
नेप्सेले सेबोनलाई टेरेन भन्ने आधारमा अर्को एक्सचेन्ज ल्याउन खोेजिएको हो भने त्यसले विकृति विसंगतिलाई थप मलजल गर्नेछ ।
९) स्टक एक्सचेन्ज विशिष्ट व्यवसाय
स्टक एक्सचेन्ज सञ्चालन बैंक, बिमा जस्तै वित्तीय कारोबार गर्ने वा वस्तु वा सेवा प्रदान गर्ने सामान्य व्यवसाय होइन् ।
१०) प्रतिस्पर्धाका लागि समान धरातल
निजी क्षेत्रबाट अर्को स्टक एक्सचेन्ज ल्याएर प्रतिस्पर्धा गराउने सोच हो भने प्रतिस्पर्धाका लागि समान धरातल उपलब्ध हुनुपर्छ । नेप्से सरकारी स्वामित्वमै रहँदा निजी क्षेत्रको कम्पनीसँग समान प्रतिस्पर्धा हुन सक्दैन ।
११) नेप्सेको विस्तार
सेयर बजारको कारोबार काठमाडौं उपत्यकामात्र सीमित भयो भन्ने आरोप नेप्सेलाई लाग्दै आएको छ । नेप्सेले पूर्व बिर्तामोडदेखि पश्चिम धनगढीसम्म ब्रोकरको कार्यालय पु¥याएको छ । बाग्लुङ र बेशीसहरजस्ता पहाडी बजारमा ब्रोकर पुगेर सेयर किनबेच गर्नसकिने सुविधा प्रदान गरेको छ ।
१२) नवीनतम सूचना प्रविधिको प्रयोग
नेप्सेले निरन्तर नवीनतम प्रविधिको प्रयोगलाई अंगिकार गर्दै आएको छ । वि.सं. २०६४ मा ओपन आउट क्राई सिस्टमबाट सेमिट अटोमेटिड कारोबार प्रणालीमा प्रवेश गरेको नेप्से निकट भविष्यमै पुर्ण अटोमेशन कारोबार प्रणालीमा जाँदैछ ।
१३) नेप्से पुँजी बजारको बाधक हो ?
विषयान्तर गर्ने हेतुले नेपालको समग्र पुँजी बजारको विकासमा नेप्से बाधक रहेको भन्ने विभिन्न मञ्चहरुमा प्रस्तुती हुने गरेको छ । आफु उभिएको समाजसँग कदम मिलाएर नेप्से अगाडि बढ्ने हो । यस अर्थमा नेप्से एक कदम अगाडि नै छ ।
१४) नेप्से उत्कृष्ट करदाता, असल संस्था
नेपाल सरकारले मझौला करदाताको समूहबाट नेप्सेलाई उत्कृष्ट करदाताको पुरस्कारबाट सम्मानित गरेको छ । हाल सञ्चालनमा रहेका ३६ सरकारी संस्थानमध्ये सञ्चालनको चुस्तता, नाफा लगायत वित्तीय अवस्था, जनशक्ति तथा अन्य स्रोत साधन व्यवस्थापनको आधार अग्रणी संस्था मान्न सकिने अवस्था छ ।
१५) प्रतिस्पर्धाको सैद्धान्तिक पक्ष
दुई वा सोभन्दा बढी बिक्रेता वा खरिदकर्ता भए प्रतिस्पर्धा सुनिश्चित हुन्छ भन्ने बुझाई छ । प्रतिस्पर्धाको अर्को पक्ष स्वतन्त्र मूल्य निर्धारण हो । कुनै व्यक्ति, समूह वा निकायबाट मूल्य निर्धारण हुने बजारमा सहभागी संख्या जतिसुकै भए पनि प्रतिस्पर्धाले काम गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.