सरकारी सेयरमा २४ प्रतिशत नाफा, २३ संस्थानले ३५ अर्ब कमाए

  २०७४ जेठ १४ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारी लगानीमा चलेको २३ वटाले आर्थिक वर्ष २०७२/७३ मा करिव ३५ अर्ब (३४ अर्ब ९४ करोड) रुपैयाँ नाफा गरेका छन् । ४१ वटा संस्थान मध्ये अरु सबै घाटामा गएका छन् ।

सबै संस्थानमा सरकारको सेयर लगानी १ खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ छ भने ऋण लगानी १ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ छ । सरकारी सेयरले २४ प्रतिशत नाफा पाएको छ ।

नाफा बाहेक संस्थानहरुबाट सरकारले गत वर्ष ७ अर्ब ८१ करोड राजश्व आम्दानी गरेको छ । कुल राजश्वमा संस्थानको योगदान १.६२ प्रतिशत मात्र छ । जीडीपीमा संस्थानको आम्दानीको योगदान करिव १० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी नाफा आयल निगमले १९ अर्ब ३५ करोड गरेको छ भने सबैभन्दा धेरै घाटा विद्युत प्राधिकरणले ८ अर्ब ९० करोड घाटा खाएको छ ।

धेरै घाटा खानेका उदयपुर सिमेन्ट, नेशनल ट्रेडिङ, नेपाल औषधि लिमिटेड, जनक शिक्षा सामाग्री केन्द्र, राष्ट्रिय बीमा संस्थान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौडा सिमेन्ट उद्योग, खाद्य संस्थान रहेका छन् ।

संस्थानहरुको आम्दानी भने घटेको छ । आर्थिक वर्ष २०७२/७३ मा सार्वजनिक संस्थानको आम्दानी ३५ अर्ब ६७ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७१/७२ मा संस्थानहरुको कुल सञ्चालन आय २ खर्ब ८७ अर्ब १६ करोड रहेकोमा आर्थिक वर्ष २०७२/७३ मा २ खर्ब ४० अर्ब ४९ करोडमा सीमित भएको अर्थमन्त्रालले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । २०७२ साल बैशाखमा आएको भूकम्पले संस्थानको आयमा १२.९१ प्रतिशतले आयमा गिरावट आएको मन्त्रालयको तर्क छ ।

हाल ७ वटा औद्योगिक, ६ वटा व्यापारिक, ७ वटा सेवा प्रदायक, ५ वटा सामाजिक, ५ वटा जनउपयोगी र ११ वटा वित्तीय गरी ४१ वटा संस्थान रहेको छन् । २०४७ सालमा ६३ वटा संस्थान थिए । ३० वटा निजीकरण गरियो । तिनीहरु मध्ये अधिकांश संस्थानको अस्थित्व नै मेटिएको छ । थप ८ वटा नयाँ संस्थान जन्माइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.