नेपालीको आम्दानी साढे ११ हजारले बढ्यो, देशको आर्थिक वृद्धि ६.९४ प्रतिशत

  २०७४ जेठ १४ गते १३:५६     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि शुन्य दशमलव १ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । यो वृद्धि आर्थिक २०५०/५१ यताको उच्चतम भएको अर्थमन्त्रालयले जनाएको छ ।

सन २०१७ मा विश्वको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको बेलामा नेपालले ६.९४ प्रतिशतको आर्थिक वृद्धि गर्नु उत्साहजनक भएको अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको बातावरणमा सुधार लगायत समग्र आपूर्ति व्यवस्थामा आएको सुधारले उच्चदरको आर्थिक वृद्धि सफल भएको अर्थ मन्त्रालयको विश्लेषण छ ।

कृषि क्षेत्रको वृद्धि ५.२९ प्रतिशत छ भने गैर कृषि क्षेत्रको वृद्धि ७.७४ प्रतिशत रहेको छ । सेवा र उद्योग क्षेत्रको उत्पादन वृद्धिदर क्रमशः ६.९० र १०.९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा २९.३७ प्रतिशतमा खुम्चिएको छ भने गैर कृषि क्षेत्रको हिस्सा ७०.६३ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत देखिएको छ । बचतको अंक ६.४३ प्रतिशत विन्दुले वृद्धि भई १०.२५ प्रतिशतले पुग्ने भएको छ ।

यस वर्ष नेपालीहरुको औषत आम्दानी ११ हजार ५५० रुपैयाँले बढेको छ । मन्त्रालयका अनुसार यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी अमेरिकी डलर ७५७ रहेकोमो चालु आर्थिक वर्ष २०७३/७४ मा अमेरिकी डलर ८६२ पुगेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.